क्या चलाख करिश्मा : बोर्ड अध्यक्ष हुन पूर्व राष्ट्रपति भण्डारी फकाउन गइन्

क्या चलाख करिश्मा : बोर्ड अध्यक्ष हुन पूर्व राष्ट्रपति भण्डारी फकाउन गइन्

काठमाडौँ : पहिला पार्टी अध्यक्ष केपी ओलीले आफूखुसी पार्टीका नेताहरूलाई सत्ता शक्तिको भाग दिन्थे। तर पूर्व राष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा चासो दिए लगत्तै उनको एकाधिकार भत्किएको छ। सरकारमा सहभागी गराउँदा नै उनी भण्डारीलाई भाग दिन बाध्य भए।

सायद त्यही थाहा पाएर हुनसक्छ अहिले अभिनेत्री करिश्मा मानन्धर पूर्व राष्ट्रपति भण्डारीसँग नजिकिएकी छिन्। उनी नजिकिनुको कारण हो चलचित्र विकास बोर्डको अध्यक्ष।

बोर्डको अध्यक्ष छान्ने सूचना तथा सञ्चार मन्त्रालयले हो। अनि मन्त्रालयको नेतृत्वमा छन् पृथ्वीसुब्बा गुरुङ। उनी एमालेका सांसद त हुन् तर एमालेभित्र पनि उनी भण्डारीको कोटामा मन्त्री भएका हुन्।

हिजो राजनीतिमा करिष्मा ओली निकट थिइन्। उनले ओलीसँग भेटघाट गर्ने गरेकी थिइन्। तर जब उनले एमालेभित्र रहेको गुटको शक्तिबारे जानकारी पाइन् अनि भण्डारीसँग निकट हुने प्रयासमा लागिन् र यसै साता भेट पनि गरिन्।

मन्त्रालयले सूचना निकाले अनुसार बोर्डको अध्यक्ष हुन उनीसहित ६ जनाले आवेदन दिएका छन्। प्रतिस्पर्धामा करिष्मा त हुने नै भइन्। नत्र किन भण्डारी भेट्थिन् र। अन्यमा दिनेश डिसी, राजेश थापा, दीपा बस्नेत, प्रकाश भट्टराई र अर्जुन कुमार डङ्गोलले समेत आवेदन दिएका छन्। 

प्रक्रिया अनुसार अब आवेदकसँग छनौट समितिले उनीहरू बोर्ड अध्यक्ष भए भने के काम गर्छन् भनेर भिजन पेपर माग्नेछन्। अनि अन्तर्वार्ता गरेर ६ मध्ये तीन जनाको नाम सर्टलिस्ट गर्नेछन्।

यही तीन सर्टलिस्टमध्ये एक जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्न सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा लैजाने छ। अनि मन्त्रिपरिषद्ले निर्णय गरेमा बोर्ड अध्यक्षको दुई वर्षका लागि मोहर लाग्छ।

कसलाई बोर्डको अध्यक्ष बनाउने त्यसमा प्रधानमन्त्री ओलीको भूमिका महत्त्वपूर्ण हुने नै भयो। तर प्रमुख निर्णायक भूमिका त सञ्चारमन्त्री कै हुन्छ नै।

नाम उनैले सिफारिस गराउने हो। त्यसैले त करिष्मा अन्य प्रतिस्पर्धी भन्दा एक कदम अगाडि बढ्दै बोर्डको अध्यक्ष बन्न पूर्व राष्ट्रपति भण्डारी भेटिरहेकी छिन्।

उनी बोर्ड अध्यक्ष नियुक्त भए पनि पहिलो महिला अध्यक्ष भने हुन सक्दिनन् है। यस अगाडि नै निकिता पौडेलले त्यो रेकर्ड राखिसकेकी छिन्। यस अगाडि अध्यक्ष थिए भुवन केसी जो आफू अध्यक्ष बने चलचित्र क्षेत्रको कायापलट गर्छु भनेर दाबी गर्थे तर नाम भन्दा बदनामी कमाएरै बिदा भए। अब करिश्माले गर्ने दाबी पनि उही' लामो समयदेखि चलचित्र क्षेत्रमा संलग्न' भन्ने त होला।

साउन ३२, २०८१ शनिबार २३:२५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।