स्थानीयको अवरोधले १९ करोडमा बनेको हरिपुर्वामा सवस्टेशन अलपत्र, समस्यामा स्थानीय नै
सर्लाही : हरिपुर्वा नगरपालिका–२ स्थित सबस्टेशनसम्म ३३ केभिए प्रसारण लाइन जोड्न स्थानीयले अवरोध गरेपछि निर्माण सम्पन्न भइसकेको सबस्टेशन अलपत्र छ।
निर्माण भएको लामो समयसम्म पनि सञ्चालन नहुँदा बत्ती बाल्न समस्या भएको हरिपुर्वा नगरपालिका–६ का विजयप्रसाद साहले बताए। प्राधिकरणले सवस्टेशनसम्म ३३ केभिए लाइन जोड्न विभिन्न रुट भएर पोल गाड्ने र तार तान्ने काम अधुरो रहेकाले समस्या भएको स्थानीय वडा नं ९ वसन्तपुर निवासी अवधेश साहको भनाइ छ ।
स्थानीयले प्राधिकरणले पोलका गाड्न गलत रुट प्रयोग गरेका कारण अवरोध भएको बताएका छन्। गाउँलाई क्षति नपुग्ने गरी विद्युत्को तार विस्तार गर्न स्थानीयको माग छ।
हरिपुर्वा सबस्टेशनका प्रमुख जगदीश यादवले स्थानीयको मागलाई मध्यनजर गरी प्रसारण केन्द्रसम्म विद्युत् लैजान विभिन्न चार रुट प्रयोग गर्दा पनि स्थानीयले अवरोध गरेका बताए।
‘हामीले स्थानीयको सहजताका लागि नै विद्युतीय प्रसारणलाइन विस्तार गर्न खोजेका हौँ तर यहाँ विभिन्न स्वार्थका कारण स्थानीयले नै अवरोध गरिरहेका छन्, जसले गर्दा सबस्टेशन सञ्चालनमा समस्या भएको छ’, उनले भने।
हरिपुर्वा, ईश्वरपुर नगरपालिका तथा पर्सा र ब्रह्मपुरी गाउँपालिकामा सेवा पुर्याउने उद्देश्यसहित दुई वर्षअघि नै सबस्टेशन निर्माण भएको थियो तर हालसम्म सञ्चालन हुन सकेको छैन।
सव स्टेसन प्रयोगमा नआउँदा एकातिर लगानी खेर गइरहेको छ भने अर्कातर्फ स्थानीयले गुणस्तरहीन सेवा प्रयोग गरिरहनुपरेको छ। पछिल्लो समय राजनीतिक खिचातानीको सिकार भएका कारण सबस्टेशन सञ्चालन चुनौतीपूर्ण बनेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहको भनाइ छ।
हरिपुर्वा नगरपालिका–१ र ५ का स्थानीयले ३३ केभिए प्रसारण लाइनका लागि एक किलोमिटर विद्युत् पोल गाड्न अवरोध गरेपछि सबस्टेशन अलपत्र बनेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेशकुमार यादवले बताए।
उक्त सबस्टेशन निर्माणका लागि १९ करोड ६० लाख लागतमा आर्थिक वर्ष २०७३/७४ मा ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले सबस्टेशनका लागि आवश्यक भौतिक संरचना निर्माण सम्पन्न गरिसकेको छ।
हरिपुर्वा क्षेत्रमा लामो दूरी पार गराएर मलङ्गवा वितरण केन्द्रबाट विद्युत् आपूर्ति हुँदै आएको छ। यसरी आपूर्ति गर्दा अत्यधिक लोड हुने गरेको प्राधिकरण प्रमुख यादवले जानकारी दिए।
‘लामो दूरी कमजोर लाइन विस्तार संरचनालगायत कारण स्थानीयले उखरमाउलो गर्मीमा पङ्खा प्रयोग गर्न पाउँदैनन्’, उनले भने, ‘पटक पटक लाइन गइरहने समस्या झेल्दै आउनु परिरहेको छ।’
भदौ १, २०८१ आइतबार ०१:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।