कोटीहोम काण्डबारे छानबिन गर्न समिति गठन, प्रतिवेदन बुझाउन १५ दिनको समय

कोटीहोम काण्डबारे छानबिन गर्न समिति गठन, प्रतिवेदन बुझाउन १५ दिनको समय

काठमाडौँ : कथावाचक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न जाँदा शुक्रवार बेलुका पशुपतिनाथ कोटीहोम स्थलमा भएको झडपबारे छानबिनका लागि ७ सदस्यीय समिति गठन भएको छ।

प्रहरीले जारी गर्ने चारित्रिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै प्रहरीले सोधपुछका लागि शुक्रवार बेलुका १० बजे नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो।

सो झडपबारे शनिवार दिउस जिल्ला प्रशासन कार्यालयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त रजौरेसहित छलफल भएको थियो।

छलफलपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो।

छानबिन समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी गङ्गा पौडेल, सशस्त्र प्रहरी बलका डिएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं र कोटीहोम आयोजक मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य राखिएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुपम पौडेल सदस्य सचिव छन्।

समितिलाई कोटीहोम आयोजनास्थलमा शुक्रवार राति भएको घटनाबारे स्थलगत अध्ययन र छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको बताइएको छ।

सम्बन्धित समाचार:

साउन ३२, २०८१ शनिबार २१:३९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।