हेटौंडा सिमेन्टसहित एकैदिन ३ वटा उद्योगको अवलोकन गरेपछि मन्त्रीले भने 'उद्योगको समस्या सरकारलाई थाहा छ'

हेटौंडा सिमेन्टसहित एकैदिन ३ वटा उद्योगको अवलोकन गरेपछि मन्त्रीले भने 'उद्योगको समस्या सरकारलाई थाहा छ'

काठमाडौं : उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताएका छन्। 

हेटौंडा सिमेन्ट उद्योगको शनिबार निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा सरकार अवगत रहेको र सरकारले चरणबद्ध रुपमा गृहकार्य गरिरहेको बताए। 

उद्योग व्यवस्थापन समितिले पनि उद्योगमा अनावश्यक खर्च कटौती गरी उद्योगको प्रति एकाइ लागत न्यूनीकरण गरी प्रतिस्पर्धात्मक बजारमा उपस्थित हुनुपर्ने मन्त्री भण्डारीले जोड दिए।

समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका पुराना प्रविधिका मेशिनरी हटाएर नयाँ प्रविधिका मेशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताए।

त्यस्तै, उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले हेटौंडा सिमेन्ट उद्योग चरम आर्थिक संकटका कारण पटकपटक बन्द गर्नु परिरहेको बताउँदै उत्पादनलाई थप वृद्धि गर्न पुराना प्रविधिका मेशिनबाट काम लिन नसकिने अवस्था रहेकाले नयाँ प्रविधिका मेशिन जडान गर्न सरकारले सहयोग गर्नुपर्ने माग गरे।

मन्त्री भण्डारीले आजै हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको पनि वर्तमान अवस्थाका बारेमा निरीक्षण गरे। कपडा उद्योग सञ्चालनको ‘मोडालिटि’बारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिँदै उनले कपडा उद्योग सञ्चालनमा आउँदा एक हजार युवाले रोजगार पाउने बताए।

हेटौंडा उपमहानगरपालिका–१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि मन्त्री भण्डारीले अवलोकन गरे। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका कारण मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्न वन मन्त्रालयले अवरोध गरिरहेको छ।

मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढाउने बताए।  

साउन ३२, २०८१ शनिबार २१:२६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।