लाटोकोसेरोको संरक्षण गर्न कास्की र स्याङ्जामा १०० वटा गुँड बनाइँदै

लाटोकोसेरोको संरक्षण गर्न कास्की र स्याङ्जामा १०० वटा गुँड बनाइँदै

काठमाडौं : लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले कास्की र स्याङ्जामा एक सय वटा गुँड बनाइने भएको छ।

प्रकृतिका साथीहरू संस्थाको सक्रियतामा स्याङ्जामा १० र कास्कीमा ९० वटा गुँड बनाउन लागिएको निर्देशक राजु आचार्यले जानकारी दिए। 

'विगतमा पोखरा र आसपासका क्षेत्रमा रहेका पुराना घरहरूमा लाटोकोसेरोका गुँडहरू पाइन्थे तर हाल बासस्थानको समस्या परेको छ', उनले भने, 'बासस्थानलाई सहज बनाउने उद्देश्यका साथ लाटोकोसेरोहरू रहेका स्थान पहिचान गरी गुँड बनाउने तयारीमा छौं।'

गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणका लागि संरक्षणदूत छनोट गरिसकिएको र उनीहरूसँगको समन्वयमा आगामी तीन साताभित्र गुँडहरू राख्ने तयारी गरिएको निर्देशक आचार्यले बताए। 

त्यहाँ पहिलोपटक छ जना संरक्षणदूत छनोट गरी संरक्षण अभियान अघि बढाइएको छ। उनीहरूले बुढा रूखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्ने, स्थानीय विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गर्ने, लाटोकोसेरो संरक्षणका लागि कृत्रिम गुँड वितरण, चोरी–सिकारी नियन्त्रणका लागि सहजीकरण गर्नेछन्।

संस्थाका निर्देशक एवं संरक्षणविद् राजु आचार्यले हालै हरित क्षेत्रको ओस्कार मानिने ‘ह्विट्ली’ संरक्षण पुरस्कार प्राप्त गरेका थिए।

अहिले सोही पुरस्कारको रकमबाट लाटोकोसेरो संरक्षण अभियानसँगै गुँड निर्माणलगायत कार्यक्रम गर्न थालिएको संरक्षणदूत बालकुमार गुरुङले जानकारी दिए।  

साउन ३२, २०८१ शनिबार २१:१२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।