थाइल्यान्डका राजाले आफ्नो जन्मदिनमा पूर्वप्रधानमन्त्री सिनावात्रालाई आममाफी दिए

थाइल्यान्डका राजाले आफ्नो जन्मदिनमा पूर्वप्रधानमन्त्री सिनावात्रालाई आममाफी दिए
तस्बिर : पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा

एजेन्सी : थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिएका छन्। 

राजा महा वजिरालोङकोर्नले शनिबार आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक छन्। 

थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि झण्डै एक वर्षअघि स्वदेश फर्केपछि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो।

राजा वजिरालोङकोर्नले उनको सजाय कटौती गरी एक वर्षमा सिमित गरिदिएका थिए भने उमेर र खराब स्वास्थ्यको कारण उनलाई आवश्यक परेको समय उपस्थित हुने शर्त (प्यारोल)मा रिहा गरिएको थियो।

थाक्सिनका वकिल चाटमोन्ट्रीले सरकारी राजपत्रमा आममाफीको घोषणा गरिएको र आममाफी पाउने हजारौँ व्यक्तिमध्ये दुई पटक प्रधानमन्त्री भइसकेका थाक्सिन पनि रहेको बताए। 
 
शनिबार प्रकाशित शाही राजपत्रमा भनिएको छ, 'राजाले ती माफी पाएका सबैजनालाई आफूलाई सुधार्ने र देशलाई फाइदा पुर्याउने अवसर दिनुभएको छ।' 

राजा वजिरालोङकोर्नले जुलाईको अन्त्यमा आफ्नो ७२ औं जन्मदिन मनाएको करिब एक महिनापछि असल आचरण भएका कैदीहरूलाई माफी दिइएको हो।

थाई संसद्ले शुक्रबार थाक्सिनकी ३७ वर्षीया छोरी पाएटोङ्तार्न सिनावात्रालाई प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो।  

उनी राज्यको सबैभन्दा कान्छी प्रधानमन्त्री हुन्। उनी आफ्ना-बुबा र फुपू यिङलकपछि यो पद सम्हाल्ने सिनावात्रा परिवारका तेस्रो सदस्यसमेत हुन्। 

राज्यको संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रेता थाभिसिनलाई बर्खास्त गरेपछि पाएटोङ्तार्नलाई प्रधानमन्त्री बनाइएको हो।

साउन ३२, २०८१ शनिबार २०:५९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।