लुम्बिनी एमालेभित्र आचार्य : संसदीय दलको उपनेता हुँदा मुख्यमन्त्री बने, त्यसपछि मात्रै दलको नेता!

लुम्बिनी एमालेभित्र आचार्य : संसदीय दलको उपनेता हुँदा मुख्यमन्त्री बने, त्यसपछि मात्रै दलको नेता!

काठमाडौं : एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन्। 
 
एमाले लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले यसअघि नै मुख्यमन्त्री बनेका आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो। मुख्यमन्त्री हुनुअघि उनी उपनेता थिए। 

संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने प्रचलन भएपनि दलका नेता लिला गिरीलाई छाडेर उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने केन्द्रको ठाडो निर्देशनपछि उनी मुख्यमन्त्री बनेका थिए। उनलाई मुख्यमन्त्री बनाउन एमाले महासचिव शंकर पोखरेल हाबी भएका थिए। 

त्यसपछि पूर्वमुख्यमन्त्रीसमेत रहेका दलका नेता गिरीले दलको नेताबाट राजीनामा दिएपछि रिक्त रहेको थियो। आज बसेको बैठकले मुख्यमन्त्री आचार्यलाई दलको नेता चयन गर्यो। 

दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णयप्रति असन्तुष्ट गिरीले गत साउन ७ मा संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। 
 
आजको बैठकले दलको उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ।

यसैगरी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ। चौधरी यसअघि पनि प्रमुख सचेतक नै थिए। 

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा साउन ७ मा मुख्यमन्त्री नियुक्त भएका आचार्यले भदौ ४ मा विश्वासको मत लिने भएका छन्। विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ।  

साउन ३२, २०८१ शनिबार २०:४४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।