दुई हिमताल फुट्दा थामेमा अकस्मात् बाढी आएको पुष्टि, थप दुई ताल फुट्ने जोखिममा

दुई हिमताल फुट्दा थामेमा अकस्मात् बाढी आएको पुष्टि, थप दुई ताल फुट्ने जोखिममा
यही ताल फुट्दा सोलुखुम्बुमा अकस्मात बाढी आएको सरकारी निष्कर्श। तस्बिर : रासस

सोलुखुम्बु : दुई वटा हिमताल फुट्दा सोलुखुम्बुको थामे क्षेत्रमा बाढी आएको पुष्टि भएको छ। प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)का अनुसार दुई हिमताल फुट्दा

सोलुखुम्बुको थामे क्षेत्र अझै बाढीको जोखिममा छ। उनले शुक्रवार एक्कासि बाढी आउनुको कारण दुई वटा हिमताल फुट्नु रहेको बताए।

शनिवार रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले क्षतिग्रस्त थामे क्षेत्रको हवाई निरीक्षण गरेका थिए। निरीक्षणमा शुक्रवार दुई वटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको उनले बताए।

थामेभन्दा माथिपट्टि पाँचवटा हिमताल छन्। शुक्रवार दुई वटा विस्फोट भएको र बाँकी तीनमध्ये एउटा सुरक्षित रहेको र दुई वटा अझैँ जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

उनले अझैँ पनि ताल फुट्ने जोखिम कायम रहेकाले खुम्बुसहित तल्लो सोलुमा बाढीको उच्च जोखिम रहेको उनले बताए। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमताल विस्फोट भएको हुनसक्ने बताएको छ।

विभागका अनुसार थामे क्षेत्रमा साउन २५ गतेदेखि दैनिक औसत तापक्रम बढेको थियो। सो दिनयता तापक्रम नौ दशमलव सात डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ।

बाढी प्रभावित थामे क्षेत्रमा राहत र उद्दारमा परिचालित सुरक्षाकर्मी। तस्बिर : नेपाल प्रहरी।शुक्रवार भने तापक्रम बढेर १५ दशमलव नौ डिग्री सेल्सियस पुगेको थियो। निरन्तरको वर्षा र तापक्रममा भएको वृद्धिले हिमपहिरो गएको विभागको बुझाइ छ। जलवायु जानकार राजन थापाले हिमाली क्षेत्रमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै जाँदा हिमतालहरू जोखिममा रहेको बताए।

‘थामेमा मात्र होइन तापक्रम बढ्दै जाँदा सगरमाथा क्षेत्रका अन्य हिमताल पनि जोखिममा छन्,’ उनले भने ‘हिमालमा हिउँ पग्लिने क्रम बढेको छ, यसले हिमाली बस्तीलाई जोखिममा पारेको छ।’    
बाढीबाट २० घर पूर्ण क्षति

बाढीबाट खुम्बु पासाङल्हामु गाउँपालिका–३ थामे क्षेत्र सबैभन्दा धेरै प्रभावित बनेको थियो। सो क्षेत्रका प्रभावितहरूलाई स्थानीय प्रशासनले जिल्ला दैविक प्रकोप उद्धार कोषबाट १३ घर परिवारलाई प्रतिपरिवार १५ हजार र तीन–तीन थान त्रिपाल दिएको छ। स्थानीय सरकारका तर्फबाट १५ परिवारलाई ५० हजारका दरले वितरण गरिएको छ।

बाढीबाट २० घर पूर्ण क्षतिग्रस्त भएको छ। घरमा कोही नहुँदा मानवीय क्षति भने भएन। नेपाली सेनासहितको सुरक्षाकर्मीले प्रभावित स्थानबाट सात जनाको उद्धार गरेको थियो।

अकस्मात आएको बाढीका कारण थामे क्षेत्रका २० घर पूर्ण क्षतीग्रस्त भएका छन्। तर घर रित्तोहुँदा मानविय क्षती भएन। तस्बिर : नेपाल प्रहरी।प्रभावित इलाकामा अस्थायी पुल निर्माण गरी उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। बाढीका कारण अवरुद्ध खुम्बु बिजुली कम्पनीको पावर हाउस, खानेपानी लाइन, बाटो, विद्यालय मर्मत तथा घरमा भएका सामग्री सुरक्षित स्थानमा स्थानान्तरणको क्रम जारी रहेको सेनाले जानकारी दिएको छ।

बाढीले सडक सञ्जाल टुट्यो

बाढीका कारण पुलमा क्षति हुँदा तल्लो सोलु र खुम्बुको सिधा सडक सञ्जाल टुटेको छ। साथै बाढी भोटेकोसी हुँदै दूधकोशीमा मिसिँदा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकाको सिमानामा पर्ने मितेरी पुलमा पनि क्षति पुगेको जनाइएको छ।

बाढीले पक्की मोटरेबल पुलको एकतर्फको भाग कटान भएको छ । जसका कारण सल्लेरीबाट खुम्बु जोड्ने एकमात्र सडक सञ्जाल टुटेको स्थानीयले बताएका छन्।  

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्रमा आवतजावत टुटेको सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेका अध्यक्ष लामाकाजी शेर्पाले बताए।आवतजावत विच्छेद भएपछि माथिल्लो खुम्बुको जनजीवन प्रभावित बनेको उनले बताए।

सुवास दर्नाल/रासस   

साउन ३२, २०८१ शनिबार १९:५०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।