अघिल्लो सरकारले शिक्षकलाई राजनीतिबाट अलग गराउने गलत प्रयास गर्यो, हामी त्यसो गर्दैनौं : प्रधानमन्त्री

अघिल्लो सरकारले शिक्षकलाई राजनीतिबाट अलग गराउने गलत प्रयास गर्यो, हामी त्यसो गर्दैनौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने बताएका छन्। 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उनले शिक्षकहरूले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेकाले उनीहरुका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्ने बताए। 

उनले यसअघिको सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको भन्दै अब अवस्था फेरिएकाले ढुक्ककासाथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरे। 

उनले भने, ‘राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरूले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए। शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए। त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो। ती प्रयास गलत थिए। वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो। त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुता राख्नुपर्ने कारण देख्दैन।'

शिक्षकहरूले कक्षाकोठाभन्दा बाहिर पनि समाजको विकृति बढार्ने काममा लाग्नुपर्ने भन्दै उनले थपे, 'शिक्षक हुनु भनेको जागिरे हुनु होइन, एक प्रकारको जागरण हो।’

शिक्षा र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको पनि उनको भनाई छ।  

साउन ३२, २०८१ शनिबार १८:३८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।