प्रचण्डकै अगाडि जनार्दनले भने '२०० वर्षसम्म प्रचण्ड बाँचून्, तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनु छैन'

प्रचण्डकै अगाडि जनार्दनले भने '२०० वर्षसम्म प्रचण्ड बाँचून्, तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनु छैन'

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू सधैं पार्टी नेतृत्वको पक्षमा उभिएको भएपनि आफूमाथि माओवादी केन्द्र विभाजन गर्न खोजेको भन्दै पार्टी हेडक्वाटरबाटै आरोप लगाइएको बताएका छन्। 

पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अगाडि आफूमाथि लगाइएको आरोप प्रचण्डले नै सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने माग गरे। त्यस कार्यक्रममा प्रचण्ड पनि सहभागी थिए। 

उनले आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा नेतृत्वविरोधी भएको आरोप लगाइएको भन्दै आफूलाई अध्यक्षको मोह नभएको जिकिर गरे। 

‘तपाईंहरूले मलाई दलाल जस्तो देख्नुहुन्छ? म यो पार्टी फोर्ने जस्तो देख्नुहुन्छ? तर, त्यो आरोप मैले आज खेपिरहेको छु। पार्टीको उच्च तह र नेतृत्वको वरिपरिबाट देशभरि मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ,' उनले प्रचण्डतिर फर्कँदै भने...यो के उहाँहरूलाई हटाएर म अध्यक्ष हुन खोजेको हो? मलाई चाहिएको छैन। मैले भनेको छु उहाँलाई। तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनु छैन।'  

पार्टीलाई समाप्त हुन नदिन प्रचण्डलाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको उनको भनाइ छ। 

'मैले त प्रचण्डलाई अरू २०० वर्ष बचाउने कुरा गर्दै छु, मेरो कुरा त्यो हो। अरू २०० वर्षसम्म प्रचण्ड बाँचून्, त्यो उनको विचारले गाइड गरोस् भनेर मैले भनेको कुरालाई नेतृत्वका विरुद्ध आयो भनेर ममाथि अनेक अत्याचारहरू गर्न प्रयत्न गरियो, उनले भने। 

कार्यक्रममा उनले प्रचण्डसँगको सहकार्यबारे पनि सम्झिए। 

'६१ वर्षको भएँ। म आन्दोलनमा लागेको ६ वर्षपछि अध्यक्ष प्रचण्डसँग भेट भएको थियो। त्यसपछि उहाँसँगै छु। मैले कुनै दिन बिसाएको छैन। कति गल्ती गरे हुँला, कति राम्रो गरे होला। तर, आजसम्म मैले बिसाएको छैन, उनले भने।   

साउन ३२, २०८१ शनिबार १७:३३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।