हामीले नगरेको गल्तीको सजाय भोगिरहेको छौं : प्रचण्ड

हामीले नगरेको गल्तीको सजाय भोगिरहेको छौं : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालजस्ता देशहरूले नगरेको गल्तीको सजाय भोगिरहेको बताएका छन्।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिमताल फुटेर बाढीले ठूलो धनजन क्षति व्यहोर्नुको पछाडि नगरेको गल्तीको सजाय भोगिरहेको प्रसंग उल्लेख गरे। 

शनिबार सामाजिक संजालमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले जलवायु परिवर्तनको नकारात्मक असरले गर्दा पर्वतीय देशहरूको मानवीय जीवन बहुआयमिक जोखिममा पर्दै गएको भने। 

‘हिमाल पग्लिने क्रम जारी छ, हिमताल फुटिरहेका छन्, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले तटीय क्षेत्रमा जनधनको ठूलो क्षति भइरहेको छ। मैले संयुक्त राष्ट्रसंघको महासभादेखि कोप २८ सम्म जलवायु न्यायको कुरा गरेको थिएँ। नेपालजस्ता देशहरूले हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौं,’ उनले लेखेका छन्, ‘हिजो मात्र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिमताल फुटेर बाढीले ठूलो धनजनको क्षति भएको छ र तटीय क्षेत्रमा मानवीय जोखिम उत्पन्न गराएको छ।’

अध्यक्ष प्रचण्डले नेपाल सरकारलाई उद्धार र राहतमा कमी हुन नदिन आग्रह पनि गरेका छन्। 

उनले विश्व समुदायलाई जलवायु जोखिमबाट नेपाललाई सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोगको दायरा गुणात्मक रूपले बढाउन अपील समेत गरे।

साउन ३२, २०८१ शनिबार १६:५५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।