लमजुङको कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, उडुस र लामखुट्टेले टोकेर रातभर निदाउनै सक्दैनन्!

लमजुङको कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, उडुस र लामखुट्टेले टोकेर रातभर निदाउनै सक्दैनन्!

काठमाडौं : लमजुङको कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दीहुँदा स्वस्थ खाना, पिउने पानीलगायत समस्या हुन थालेको छ। ३५ कैदीबन्दी अट्ने गरी वि.सं. २०२८ मा बेँसीसहर नगरपालिका–८ शेरामा निर्माण गरिएको जिल्ला कारागार लमजुङमा हाल एक सय १३ कैदीबन्दी छन्। 

एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफल हुनुपर्ने कानुनी प्रावधान छ। पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्दा जीर्ण भवन भत्किएर ज्यान जाने त्रास रहेको कैदीबन्दी बताउँछन्। गर्मी, उडुस र लामखुट्टेको टोकाइलगायत समस्या हुने गरेको उनीहरूको भनाइ छ। 

कारागारका चौकीदार खुसीराम मगरातीले पुरानो जीर्ण बन्दै गएको भवनमा राति मुसा दौडिँदा पनि भवन भत्किन लाग्यो भनेर डराउनुपर्ने अवस्था आएको बताए। 

'यतिबेला गर्मीको समय छ, धेरै कैदीबन्दी हुँदा सुत्न, बस्नलाई समस्या भइरहेको छ। स्वस्थ खाना र पिउने पानीको अभाव, उडुस र लामखुट्टेको टोकाइ, भुइँमा एकै ठाउँमा सुत्दा राम्रोसँग फर्किन पनि नमिल्ने समस्या छ', उनले भने। 

गर्मी अनि उडुसको टोकाइले राति निदाउन नसकिने चौकीदार मगरातीले गुनासो गरे। 

'निदाएको बेलामा उडुसले टोकेको थाहा हुँदैन, ब्युँझिदा शरीरभरि एलर्जी हुन्छ। एलर्जीको औषधि लगाउँदै बस्दै गर्नुपर्छ', उनले भने। 

यता, कैदी विष्णु गिरी थापाले जीर्ण भवन र पर्याप्त संरचना नहुँदा पानी परेको बेलामा रुझ्दै खाना खानु परिरहेको बताए। 

'गर्मीले उकुसमुकुस बनाउँछ, उडुस र लामखुट्टेले टोक्छन्। कानुनी सजायभन्दा बढी सास्ती यो सजायबाट भएको छ', उनले भने। 

भूकम्प गएमा सबै कैदीबन्दी अट्ने खुला ठाउँ नभएको भन्दै भवन र पर्खाल भत्किएर ज्यान जाने त्रासमा बस्ने गरेको उनले सुनाए। 

सुरक्षाकर्मीले बस्ने पोष्ट पनि जीर्ण अवस्थामा भएकाले सुरक्षाकर्मीलाई जोखिम रहेको कारागारका निमित्त जेलर सुमित मरासिनीले बताए। 

'कारागार भवन धेरै पुरानो हो, विसंं २०७२ मा गएको भूकम्पले कारागारको पर्खाल भत्किएको थियो, अहिले पनि उक्त पर्खाल जीर्ण हुँदा जोखिम उत्तिकै छ', उनले भने। 

कारागारको कार्यालयबाट कैदीबन्दी बसोबास गर्ने संरचना चार रोपनी क्षेत्रफलमा फैलिएको छ। 

कैदीबन्दीलाई उडुस र लामखुट्टे मार्ने औषधि दिने गरिएको भन्दै जेलर मरासिनीले उडुस र लामखुट्टे नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण हुन नसकेको बताए। 

'यसको मुख्य कारण पुरानो कारागार, क्षमताभन्दा बढी कैदीबन्दी, गर्मी र उकुसमुकुसले भएको चिकित्सक बताउँछन्', उनले भने। 

मरासिनीले १० महिला र २५ पुरुष गरी ३५ जनाको क्षमता रहेको कारागारमा केही समयअघि २० जना अट्ने एउटा कोठा निर्माण गरिएको जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न समस्या भइरहेको भन्दै समाधानको पहल थालेको दाबी गरे। 

कारागारमा अहिले पाँच महिला र एक सय आठ पुरुष कैदीबन्दी छन्। तीमध्ये ६१ जना कैदी र ५२ जना थुनुवा रहेका निमित्त जेलर मरासिनीले जानकारी दिए। 

उनका अनुसार एक थुनुवा र चार कैदी गरी पाँच महिला, ५७ कैदी र ५१ थुनुवा गरी एक सय आठ पुरुष रहेका छन्।    

साउन ३२, २०८१ शनिबार १६:२३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।