विकासोन्मुख राष्ट्रको हित सुनिश्चित गर्न आपसी सहकार्यबाट भविष्य निर्माण गर्न सकिन्छ : प्रधानमन्त्री

विकासोन्मुख राष्ट्रको हित सुनिश्चित गर्न आपसी सहकार्यबाट भविष्य निर्माण गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई भर्चुअल रुपमा सम्बोधन गरेका छन्।

यस क्षेत्रका करिब १५ राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई सुरू गरेर जारी राखेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए।

त्यसक्रममा प्रधानमन्त्री ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताए। 

'हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौं, जसले सबैलाई लाभ दिनेछ', उनले भने।

विश्वका विभिन्न भागमा फैलिएको द्वन्द्व, खाद्य र ऊर्जा सङ्कट, जलवायु परिवर्तनका असरलगायत विषयले असमान रूपमा विकासशील देशहरूमा गम्भीर चुनौती थपेकाले तिनको सामना गर्न सामूहिक प्रयास अपरिहार्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। 

तुलनात्मक रूपमा न्यून आर्थिक एवं औद्योगिक विकास गरेका ७८ अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्र ग्लोबल साउथका सदस्य छन्। 

साउन ३२, २०८१ शनिबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।