पशुपति कोटीहोममा लफडाको कारण : विजयको ‘पुलिस रिपोर्ट’मा कैफियत, व्यक्तिगत बदमासीलाई धर्मको आवरण

पशुपति कोटीहोममा लफडाको कारण : विजयको ‘पुलिस रिपोर्ट’मा कैफियत, व्यक्तिगत बदमासीलाई धर्मको आवरण

काठमाडौं : पटक-पटक नाम बदल्दै धर्मको आडमा ठगी धन्दा चलाउन माहिर विजय भण्डारीले यस पटक साउनको मौका पारेर पशुपति क्षेत्रमा एक महिना लामो कोटीहोमको आयोजना गरे।

यस पटक उनले आयोजक संस्था मानव सेवा फाउन्डेसनलाई बनाए अनि आफ्नो नाम ‘विष्णु प्रपन्नाचार्य’, ‘बाल योगेश्वर महाराज’ बाट बदलेर ‘बालयोगेश्वर विजयमूर्तीजी’ महाराज राखे।

वैदेशिक रोजगार ठगीमा दोषी ठहर भएर जेल सजाय तोकिएका उनको पृष्ठभूमि नहेरी जिल्ला प्रशासन कार्यालय काठमाडौं अनि पशुपति क्षेत्र विकास कोषले उनलाई कोटीहोमका अनुमति दियो।

पटक-पटक आफ्नो नाम र संस्थाको नाम बदल्ने भएकाले पशुपतिमा कोटीहोम आयोजना गर्ने को हो भन्ने प्रारम्भमा खुलेन। जब आयोजकको रूपमा उनै विजय देखियो अनि उनको अपराधका फेहरिस्तहरू सार्वजनिक भयो।

जब नाम बदलेका सक्कली आयोजकको पहिचान खुल्यो अनि उनले हिन्दु धर्मको आडमा २०६८ बाटै रेकर्डमा रहेको उनको अपराधकर्म सार्वजनिक हुन थाल्यो।

धार्मिक कार्यक्रममा विदेश लैजान्छु भनेर ठगी गरेकोमा दोषी ठहर हुँदै एक वर्ष कैद तोकिएको, कोटीहोम आयोजना गरेर रकम लिएर फरार भएको लगायतका उनका बदमासीहरू सार्वजनिक भए पनि कोटीहोममा सर्वसाधारणको बढ्दो संख्याले प्रहरी अनि स्थानीय प्रशासनले तत्काल हस्तक्षेप गर्न सकेन।

यो बीचमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले आयोजकसँग कोटीहोममा उठ्ने सहयोग रकमको पारदर्शिताबारे सोधपुछ गरेको थियो। उनीहरूले सहयोग रकम पारदर्शी हुने दाबी गरेका थिए। तर, शनिबारसम्म सार्वजनिक भने गरेका छैनन्।

शुक्रबार कोटीहोमको समापन हुँदै थियो। उनले समापनमा पनि कालीबाबा नामले परिचित बाबालाई अतिथि बनाएर कोटीहोमको समापन गरे।

कोटीहोम सकिएपछि शुक्रबार बेलुका १० बजेतिर सादा पोशाकका प्रहरी कोटीहोमस्थलमा पुगेर विजयलाई भ्यानमा हालेर प्रहरी कार्यालय लैजाने प्रयास गरेपछि उनी जोगिने प्रयासमा लागे। कोटीहोम स्थलमा रहेका उनका समर्थकहरूले पक्राउबाट जोगाउने प्रयास गरे।

प्रहरी र समर्थकबीच धक्कामुक्की अनि गालीगलौच शुरू भयो। अन्त्यमा विजयका समर्थकहरूले उनलाई प्रहरी नियन्त्रणबाट छुट्ट्याएर पण्डालभित्र ल्याउन सफल भए। उनीहरूले फेसबुकबाट लाइभ गर्दै कोटीहोम आयोजना गरेकोमा विदेशी शक्तिको आवरणमा सरकारले हिन्दु धर्ममाथि आक्रमण गरेको भन्दै समर्थकहरूलाई पशुपतिमा बोलाए।

भिड बढ्दै गएपछि प्रहरी धक्कामुक्की गर्ने दुई जनालाई पक्राउ गरेर ब्याक भयो। विजयलाई पक्राउ गरेन। विजय पक्राउ हुने डरले पण्डालबाट बाहिरै निस्किएनन्। उनी रातभर त्यहीँ बसे। अहिले पनि उनी पण्डालमै समर्थकसहित बसेका छन्।

किन पक्राउ गर्न खोज्यो प्रहरीले ?
प्रहरीबाट पक्राउ पर्दै अनि छुट्दै आएका उनीविरुद्ध अमेरिका पठाउँछु भनेर ठगी गरेको अभियोग थियो। ०७१ भदौ ७ गते पक्राउ परेका उनी धरौटीमा छुटेका थिए।

मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा पैसा उठाएर ठगी गरेको आरोपमा तत्कालिन महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो। उनीविरुद्ध १७ लाख १५ हजार बिगो बराबरको ठगीमा जाहेरी समेत परेको थियो।

२०७१ मा ठगी आरोपमा उनी १८ महिना र २०७६ मा १९ दिन जेल बसेर रिहा भएका थिए। २०७१ मा उनीविरुद्ध २८ जना पीडितले १ करोड २७ लाख ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि २०७१ मा पक्राउ परेका थिए।

उनीविरुद्धको आपराधिक अभियोगमा हालसम्म वैदेशिक रोजगार ठगीमा वैदेशिक रोजगार न्यायाधिकरणले एक वर्ष पाँच महिना कैदको फैसला गरेको खुल्यो। २०७५ मा भएको फैसलाविरुद्ध उनी सर्वोच्च अदालतमा पुनरावेदन बोकेर गएका छन्। सर्वोच्चबाट उनको पुनरावेदनमा फैसला नभएकाले उनी बाहिरै छन्।

विभिन्न स्थानमा कोटीहोम गरेर संकलन भएको रकम लिएर फरार भएको आरोपहरू उनीमाथि भए पनि कतै पनि जाहेरी दर्ता भएर अनुसन्धान भइरहेको खुलेन। तर, प्रहरीले मध्यरात धरपकड गर्दै उनलाई पक्राउको प्रयास किन गर्यो?

यसबारे विभिन्न प्रहरी अधिकारीहरूसँग उकेराले कुराकानी गर्दा पछिल्लो समय उनले निकालेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कैफियत रहेको देखिएकाले प्रहरीले अनुसन्धान गरिरहेको खुल्यो।

उनी वैदेशिक रोजगारी ठगीमा तल्लो अदालतबाट दोषी प्रमाणित भएका व्यक्ति हुन्। प्रहरीमा ठगी सम्बन्धी जाहेरी परेको छ उनीविरुद्ध। तर, उनको प्रहरी चारित्रिक प्रमाण पत्रमा भने कुनै पनि आपराधिक रेकर्ड नभएको उल्लेख देखिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

सोही विषयमा प्रहरीले छानबिन शुरू गर्दै उनलाई प्रहरी कार्यालयमा बोलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीको दाबी छ। पटक-पटक बोलाउँदा पनि उनी उपस्थित नभएको र कोटीहोम चलिरहेको बेलामा नियन्त्रणमा लिँदा गलत अर्थ लाग्ने भएपछि शुक्रबार कोटीहोम सकिएपछि सोधपुछको प्रयास गर्दा उनका समर्थकहरूले होहल्ला र अवरोध गरेको प्रहरीको भनाइ छ।

औपचारिक रूपमा बोल्न नचाहने प्रहरी अधिकारीहरूले सोधपुछका लागि मात्र गएको दाबी गरे पनि विजयले भने सादा पोशाकमा रहेका प्रहरीले भ्यानमा राखेर लैजाने प्रयास गरेको तथा पक्राउ पुर्जी र पक्राउको कारण समेत नखुलाएको दाबी गरेका छन्।

प्रहरी पक्राउका लागि कोटीहोमस्थलमा पुगे लगत्तै विजय आफैँले समर्थकहरूलाई लाइभ गर्न लगाएका थिए। लाइभ भिडियोमा दङ्गा नियन्त्रणको गियर लगायतका प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कुटिरहेको देखिन्छ।

चारित्रिक पत्रका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिनुपर्ने अवस्था भए पनि मध्यरात कोटीहोम स्थलमा प्रहरी पुग्दा जोगिने बहानाको खोजीमा रहेका विजयले राम्रो बहाना पाए। प्रहरी घटनाबारे औपचारिक धारणा समेत सार्वजनिक गर्न नसक्ने गरि रक्षात्मक अवस्थामा पुग्यो।

उनी अनुसन्धानकै दायरामा रहेका भए पनि किन मध्यरातमा पक्राउ गर्न गएको भन्ने जिज्ञासामा जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले भने ‘उनी शनिबार काठमाडौं बाहिर जानसक्ने देखिएकाले सोधपुछको प्रयास मात्र गरेका थियौँ। तर, समर्थकहरूले घटनालाई अर्कै मोड दिए।’

प्रधान कार्यालयको निष्कर्ष : कमाण्डरले जानेनन्
पछिल्लो समय सामान्य घटनामा पनि सर्वसाधारणबाट असामान्य प्रतिक्रिया देखिने गरेको छ। हालै भक्तपुरमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा गठ्ठाघर क्षेत्रमा भएको प्रदर्शन बल्ल-बल्ल प्रहरीले नियन्त्रणमा लिएको थियो।

ट्राफिक प्रहरीले सडकमा स्कुटी रोकेर चेक गर्दा पछाडिबाट आएको ट्रकले ठक्कर दिएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका थिए।

मध्यरात पशुपति क्षेत्रको कोटीहोममा लफडा भएको सूचना प्रहरी प्रधान कार्यालय पुग्ने नै भयो। त्यसमा पनि धर्मको आडमा उग्रता प्रदर्शन गर्दै आएका अन्य संगठनहरू पनि कोटीहोम स्थलमा प्रहरीले गरेको हस्तक्षेपलाई हिन्दु धर्मसँग जोड्दै ‘अब नेपालमा पनि बंगलादेशको जस्तै आन्दोलन गर्नुपर्छ’ भन्दै सामाजिक सञ्जालमा लाइभ गरेपछि प्रहरी प्रशासनको ध्यान तानिने नै भयो।

शनिबार प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग कोटीहोममा भएको घटनाबारे जानकारी लिएको थियो। प्रधान कार्यालय स्रोतका अनुसार कोटीहोम घटनामा कमाण्डरले सुझबुझपूर्ण व्यवहार नगर्दा सामान्य घटना पनि उत्तेजित बन्न पुगेको निष्कर्ष निकालेको देखियो।

‘प्रहरी चारित्रिक प्रमाणपत्रमा कैफियत देखिएको विषय यसरी रातारात नियन्त्रणमा लिन जानुपर्ने हैसियतको थिएन। त्यति ध्यान दिएको भए यो लफडा हुने थिएन,’ एक उच्च प्रहरी अधिकारीले उकेरासँग भने ‘कोटीहोम सकिएपछि उनलाई जानकारीका लागि प्रहरी कार्यालय बोलाउने र नआए नियन्त्रणमा लिन सकिन्थ्यो। कमाण्डरले नियन्त्रणमा लिन हाल्न हतार गरेको देखियो।’

सम्बन्धित समाचार:

साउन ३२, २०८१ शनिबार ११:५५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।