पशुपति कोटीहोमको समापनमा पत्रकार पुडासैनीमाथि हातपात

पशुपति कोटीहोमको समापनमा पत्रकार पुडासैनीमाथि हातपात

काठमाडौं : पशुपति कोटीहोमको अन्तिम दिन शुक्रबार कार्यक्रमस्थलमा पत्रकार श्यामसुन्दर पुडासैनीमाथि हातपात भएको छ।

शुक्रबार मध्यरात पशुपतिमा भएको तनावको विषयमा रिपोर्टिङमा पुगेका उनीमाथि धर्म गुरु भनेर चिनिएका विजय भण्डारीको समूहले हातपात गरेको हो।

मध्यरातमा भएको अस्तव्यस्त कार्यक्रमका बीचमा उद्घोषकले मञ्चबाटै नाम लिएर ‘तपाईं विरोधमा हो कि समर्थनमा?’ भन्दै बोलाएका थिए।

भिडले आफूलाई उचालेर मञ्चमा पुर्याएर अपमानजनक ढङ्गले फूलमाला र खादा लगाएको पुडासैनीको भनाइ छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भिडको क्रोधले घेराबन्दी गरेर मलाई मञ्चसम्म उचाल्यो।  जबरजस्ती फूलमाला र खादा लगाइयो। त्यो दुर्व्यवहार थियो। पछि मञ्चबाट झारेर बाहिर लगेर टाउको र जीउमा अन्धाधुन्ध आक्रमण गरियो।’

आफूमाथि अराजक समूहले निगरानी गरिरहेको र त्यहाँको अवस्थाबारे फेसबुकमा लेख्नेबित्तिकै घेराबन्दीमा पारेर मञ्चमा उकाले पुडासैनीको भनाइ छ।

उनले काठमाडौं प्रहरी प्रमुख र गौशाला वृत्त प्रमुखलाई कुटपिट र लुटपाटको घटनाबारे जानकारी गराएको बताएका छन्।

सम्बन्धित समाचार:

साउन ३२, २०८१ शनिबार ११:०१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।