विवादित धर्मगुरु भण्डारी समात्न कोटीहोममा प्रहरी पुग्दा तनाव, यस्तो छ भण्डारीको धर्मको आडमा ठगी जालो

विवादित धर्मगुरु भण्डारी समात्न कोटीहोममा प्रहरी पुग्दा तनाव, यस्तो छ भण्डारीको धर्मको आडमा ठगी जालो

काठमाडौँ : मानव सेवा फाउन्डेसनका नाममा पशुपति क्षेत्रमा कोटीहोम आयोजना गरेका विवादित धार्मिक गुरु विजय भण्डारीले व्यवस्था बदल्नेगरि आन्दोलन गर्ने घोषणा गरे। ठगी लगायतका विषयमा उनलाई पक्राउ गर्न प्रहरी पशुपतिको कोटीहोम स्थलमा पुगेका थिए।

उनलाई प्रहरीले केही कुरा बुझ्नु छ भन्दै भ्यानमा राखेर प्रहरी कार्यालय लैजाने प्रयास गरेका थिए। तर कोटीहोममा रहेका उनका समर्थकहरूले प्रहरीको प्रतिवाद सुरु गरेका थिए। आज कोटीहोम सकिएको थियो।

कोटीहोमको प्रारम्भदेखि नै कोटीहोमका आयोजकबारे निरन्तर विवाद सुरु भए पनि प्रहरी र स्थानीय प्रहरीले वास्ता गरेको थिएन। शुक्रवार कोटीहोम सकिएपछि प्रहरीले उनलाई पक्राउको प्रयास गरेको थियो।

विजय वैदेशिक रोजगार ठगी लगायतका विवादमा पर्दै आएका व्यक्ति हुन्। उनले आफूलाई ‘विष्णु प्रपन्नाचार्य’ र ‘बाल योगेश्वर महाराज’ का नामले चिनाउँदै आएका थिए।

पशुपतिमा आयोजित कोटीहोम प्रारम्भदेखि नै विवादमा पर्दै आएको थियो। कोटीहोममा सहभागी नेपाली र भारतीय धर्मगुरुहरू एकपछि अर्को विवादमा पर्दै आए पनि पशुपति क्षेत्र विकास कोष लगायत कसैले चासो देखाएन। कोटीहोममा उठाउने रकमबारे विवाद सुरु भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बोलाएर भण्डारीसँग उठाएको रकमको विवरण र त्यसको पारदर्शिताबारे सोधपुछ गरेको खुलेको छ।

भण्डारीले कोटीहोमको सबै आम्दानी र खर्च पारदर्शी बनाउने दाबी गरेपछि स्थानीय प्रशासनले उनलाई छाडेको थियो।

भण्डारीको विवादित पृष्ठभूमि, धर्मको आडमा ठगी जालो

विभिन्न उपनाममा विजय भण्डारीले मानव सेवा फाउन्डेसनका नाममा धार्मिक गतिविधि गर्दै ठगीमा संलग्न हुँदै आएका थिए। उनी २०६८ बाटै पक्राउ पर्ने अनि छुट्ने गर्दै आएका थिए। उनी यस अगाडि वैदेशिक रोजगारी ठगी र कोटीहोमबाट उठाएर पैसा लिएर भागेको, लगायतका अभियोगहरूमा परेका थिए। 

कोटीहोम समापनमा आएका कालिबाबा।उनले अमेरिका पठाउँछु भनेर ठगी गरेको अभियोगमा ०७१ भदौ ७ गते पक्राउ परेका थिए।  उनले मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा पैसा उठाएर ठगी गरेको आरोपमा तत्कालिन महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। । उनविरुद्ध १७ लाख १५ हजार विगो वरावरको ठगीमा जाहेरी परेको थियो।

उनी ठगीको आरोपमा २०७१ मा १८ महिना र २०७६ मा १९ दिन जेल बसेर धरौटीमा रिहा भएका थिए। २०७१ मा उनीविरुद्ध २८ जना पीडितले १ करोड २७ लाख ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि २०७१ असोजमा पक्राउ परेका थिए।

वैदेशिक रोजगार ठगीमा उनलाई वैदेशिक रोजगार न्यायाधीकरणले एक वर्ष, पाँच महिना कैदको फैसला गरेको थियो। २०७५ मा भएको फैसलाविरुद्ध उनी सर्वोच्च अदालतमा पुनरावेदन बोकेर अहिले बाहिर बसेका हुन्।

२०७६ साल २८ देखि असोज ११ सम्म गुल्मी तथा सोही वर्ष माघ ११ देखि फागुन ११ सम्म चितवनमा भएको महायज्ञमा सङ्कलित रकमसहित फरार भएको उनीमाथि आरोप थियो। विवादित पृष्ठभूमिका कारण उनले धार्मिक कार्यक्रम गर्न सकिरहेका थिएनन्। 

साउनको मौका पारेर उनले पशुपती क्षेत्रमा एक महिना लामो कोटीहोमको आयोजना गरेर नेपाल र भारतबाट कथावाचकहरु बोलाएर। उनको विवादित पृष्ठभूमीबारे जानकार भए पनि पशुपति क्षेत्र विकास कोष र स्थानीय प्रशासन कोटीहोम नसकिएसम्म मौन बसे। जव कोटीहोम सकियो अनि बेलुका पक्राउको प्रयास गर्दा विवाद भयो।

साउन ३१, २०८१ शुक्रबार २३:४२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।