मंसिरका लागि चाहिने मलको अहिलेबाटै प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आङ्कलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रवार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्।
मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुदान रहेको छ। छलफलमा किसानले किन्ने मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै खरिद प्रक्रियालाई सरल बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए।
ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुक्त जग्गामा सामूहिक खेती प्रणालीमा जान सुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरे।
उनले माछा पालन, दूध उत्पादन, सुन्तला, काजु, ल्वाङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ योजना ल्याउन निर्देशन पनि दिए।
उनले पशुपक्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेँत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुदानको निरन्तरता भन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान समेत सुझाव दिएका थिए।
साउन ३१, २०८१ शुक्रबार २२:१७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।