गठ्ठाघर दुर्घटनाको छानबिन गर्न सिडिओ र प्रहरीले बनाए अलग अलग समिति

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न सिडिओ र प्रहरीले बनाए अलग अलग समिति

भक्तपुर : भक्तपुरको गठ्ठाघर भएको दुर्घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले समिति गठन गरेको छ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वको बैठकले सरोकारवालासँग छलफल गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिको सदस्यमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी नायब उपरीक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारी चालक अनुमति पत्र राधेराधे कार्यालयका उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट मृतकका आफन्त तुलसीहरि कोइराला रहेका छन्।

बिहीबार दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।

सो घटनाबारे छानबिन गर्न प्रहरीले समेत छानबिन समिति गठन गरिसकेको छ। गृहमन्त्री रमेश लेखकको निर्देशनपछि उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको हो।

ट्राफिक प्रहरीले रोकेर जाँच गर्दागर्दै ट्रकले स्कुटरलाई ठक्कर दिएको दाबी गर्दै विरोध प्रदर्शन भए पनि शुक्रवार सार्वजनिक भएको सिसिटिभी फुटेजमा त्यस्तो देखिएको छैन। तर ट्राफिक प्रहरीले एक लेनमा अवरोध पूर्याएर मोटरसाइकलहरू जाँचेको भने देखिन्छ।

साउन ३१, २०८१ शुक्रबार २२:०७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।