गीत र सङ्गीत पनि राजनीतिमा घुमेको भन्दै चिन्ता गरे गगनले

गीत र सङ्गीत पनि राजनीतिमा घुमेको भन्दै चिन्ता गरे गगनले

काठमाडौँ : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा गीत सङ्गीत, कला सबै राजनीतिक गतिविधिको वरिपरि मात्र घुम्न थालेको बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले कला पनि राजनीतिभन्दा पर जान नसकेको भन्दै रेडियोमा आउने साथीहरूले नयाँ कुराहरू सिर्जना गर्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रूपमा काम गर्नुपर्ने बताए।

‘पछिल्लो समयमा गीत, सङ्गीत, कला जे भने पनि सबै राजनीतिक गतिविधिको वरिपरि घुम्न थालेको छ,’ उनले भने ‘राजनीतिभन्दा पर जान सकिरहेको छैन। सामाजिक सञ्जालमा पनि यसमै टिप्पणी भइरहेको हुन्छ। त्यसकारण रेडियोमा आउने साथीहरूले नयाँ कुराहरू सिर्जना गर्छु भनेर ठान्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रूपमा काम गर्न सकिन्छ। किनकि अझै पनि रेडियोको ठुलो बजार छ।’

उनले करिब ६ वर्ष आफूले पनि रेडियोमा काम गरेको भन्दै पुराना दिन सम्झँदै अहिले रेडियो कसरी चलेको होला भनेर सम्झँदा कहाली लाग्ने अवस्था रहेको बताए।

उनले रेडियो चुनौतीपूर्ण भए पनि नयाँ कुराहरूको सुरुवात यहीबाट गर्न सकिने भन्दै नयाँ पुस्ताहरूलाई नयाँ जोसका साथ काम गर्न आग्रह गरे।

साउन ३२, २०८१ शुक्रबार २१:४९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।