जीवी समूहको सहकारीबारे छानबिन थाल्यो संसदीय समितिले, दीपेश पुनसँग बयान, लामिछानेको पालो आउँदै

जीवी समूहको सहकारीबारे छानबिन थाल्यो संसदीय समितिले, दीपेश पुनसँग बयान, लामिछानेको पालो आउँदै

काठमाडौँ : सहकारी संस्था बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति रवि लामिछाने जोडिएको सुर्यदर्शन र सुप्रिम सहकारीको बचतकर्ताको रकम दुरुपयोगको छानबिनमा प्रवेश गरेको छ।

काठमाडौँका सहकारीमा भएका अपचलनबारे जानकार र कारागारमा रहेका सञ्चालकहरूसँग सोधपुछ गरेको समितिले शुक्रवार सुर्यदर्शन सहकारीबाट रकम निकालेको देखिएका र सुप्रिम सहकारी ठगीमा धरौटीमा छुटेका माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसँग बयान लियो।

पुन सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव हुन्।  उनी धरौटीमा छुटेका थिए। सुर्यदर्शन सहकारीबाट उनको नाममा समेत रकम निकालिएको खुलिसकेको छ। तर उनले आफूलाई त्यसबारे जानकारी नै नभएको दाबी गर्दै आएका छन्। उनी सुर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा तानिएका छैनन्।

पुन सुर्यदर्शन, सुप्रिम, सानो पाइला लगायतका सहकारीमा रहेको बचतकर्ताको रकम दुरुपयोगमा जोडिएर फरार रहेका जीवी राईकै समूहमा सक्रिय थिए। जीवी समूहसँग मिलेर घर जग्गा किन्ने लगायतका गतिविधिमा उनी संलग्न रहेको र उनी सुप्रिम सहकारीको सचिव रहेकोबारे उकेराले समाचार प्रकाशित गरेको थियो।

उपराष्ट्रपति नन्द किशोर पुनका छोरा रहेका उनी माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन्। सुन तस्करीमा समेत जोडिएका उनी निरन्तर बदमासीहरूमा जोडिए पनि कानुनी दायरामा तानिएका थिएनन्। सुप्रिम सहकारीबाट उनी सहकारी ठगीको अनुसन्धानमा तानिए। तर सुन तस्करी लगायतका घटनामा उनी अझैँ अनुसन्धान बाहिरै रहेका छन्।

सहकारी ठगीमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन समिति गठन गर्न नेपाली कांग्रेसले संसद्मा निरन्तर दबाब दिएपछि जेठ १५ मा प्रतिनिधि सभाले सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको थियो।

समितिको प्रमुखमा सांसद सूर्य थापा छन्। ७ सदस्यीय छानबिन समितिमा एमालेबाट सरिता भुसाल, काङ्ग्रेसबाट ईश्वरीदेवी न्यौपाने र दिलेन्द्र प्रसाद बडू, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य छन्।

सुरुमा कांग्रेसका तर्फबाट बन्द्री पाण्डे सदस्य थिए। पाण्डे पर्यटनमन्त्री भए पनि उनको ठाउँमा बडू सदस्य भए। समितिले यस अगाडि सहकारीमा रहेको बचतकर्ताहरूको रकम दुरुपयोगको आरोपमा पुर्पक्षका लागि विभिन्न कारागारमा रहेका सहकारीका पदाधिकारीहरूसँग बयान लिएको थियो। 

साउन ३१, २०८१ शुक्रबार २१:२६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।