२९ वर्षदेखि बन्न नसकेको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भारतीय राजदूतसँगै गएका गृहमन्त्री लेखकले भने ‘छिटो काम सक्नु’

२९ वर्षदेखि बन्न नसकेको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भारतीय राजदूतसँगै गएका गृहमन्त्री लेखकले भने ‘छिटो काम सक्नु’

काठमाडौँ : गृहमन्त्री रमेश लेखक नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगै काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षणमा गए।

काभ्रेको पनौती नगरपालिका ६ नम्बर वडामा निर्माण भइरहेको प्रतिष्ठानको अवलोकन गर्न उनी नेपालका लागि भारतीय राजदूतलाई साथै लिएर गएका हुन्। ४१.८६ हेक्टर क्षेत्रफलमा बन्दै गरेको सो प्रतिष्ठान भारत सरकारको करिब नौ अर्ब अनुदानमा बन्न लागेको हो।

शुक्रवार दिउँसो पनौतीमा निरीक्षण गर्दै उनले परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले दाबी गरेको छ।

यो प्रतिष्ठान निर्माणको सहमति २९ वर्ष अगाडि भएको हो। भारत सरकारले प्रहरीका लागि प्रशिक्षण प्रतिष्ठान बनाउन सहमत भएपछि काभ्रे छानिएको थियो। तर २९ वर्षदेखिको प्रयास अझैँ सफल भएको छैन।

एकेडेमीको निर्माणको नेतृत्वबारे भारत र नेपाल सरकारबीच लामो समयदेखि सहमति हुन सकेको थिएन। अन्तमा २०७८ मा भारतमा बनेको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा नेपाल सरकारले स्वीकृत गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो।

२०५२ माघ १० मा प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहरा भारत भ्रमणमा जाँदा प्रतिष्ठान निर्माणबारे छलफल भएको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको क्रममा सहमति भए पनि लामो समयसम्म प्रतिष्ठान बन्नै सकेन।

२०१४ ताका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बेलामा अनुदान सम्बन्धी सम्झौता भएको थियो। भारतले नेपालको प्रचलित कानुन विपरितको बोलपत्र गराउन दबाब दिएपछि निर्माण प्रक्रिया रोकियो। अन्तमा भारतकै इच्छा अनुसार सम्झौता भएर २०७८ मा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत तीन वर्षभित्रमा निर्माण सक्ने सर्तमा ठेक्का लागेको थियो।

निर्माणमा दूतावासको निगरानी छ : भारतीय राजदूत

गृहमन्त्रीसँगै गएका नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले यो परियोजना भारतका लागि महत्त्वपूर्ण रहेको दाबी गरे। भारतको सबैभन्दा ठुलो अनुदानको परियोजना भएकाले यो समयमै सम्पन्न हुने र यसका लागि दूतावासले निरन्तरता निगरानी गरिरहेको उनले बताए।

उनले १०-११ महिनाभित्रमा प्रशिक्षण प्रतिष्ठानको निर्माणको काम सम्पन्न गर्नुपर्ने समेत बताए।

साउन ३१, २०८१ शुक्रबार २०:४९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।