हरेक भ्रष्टाचारको मुद्दामा एमाले नेतृत्व सुरक्षित रहेको शङ्कर पोखरेलको दाबी

हरेक भ्रष्टाचारको मुद्दामा एमाले नेतृत्व सुरक्षित रहेको शङ्कर पोखरेलको दाबी

काठमाडौँ : एमालेका महासचिव शङ्कर पोखरेलले भ्रष्टाचार विषयमा छानबिन गर्ने हो भने एमालेको नेतृत्व सुरक्षित रहने दाबी गरेका छन्।

शुक्रवार एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले हरेक चर्चामा रहेका भ्रष्टाचारको विषयमा एमाले निर्दोष रहेको दाबी गरे।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गिरिबन्धु टी-स्टेटको जग्गा सट्टापट्टा गर्न मिल्नेगरि भएको निर्णयमा नीतिगत बदमासी भएको भन्दै सर्वोच्चले नै ठहर्याइसकेको छ। नक्कली शरणार्थी काण्डमा नेता रामबहादुर थापा बादल जोडिएका छन्।

तर उनले भने, ‘हरेक चर्चामा रहेका भ्रष्टाचारको विषयमा छानबिन गर्ने हो भने एमालेको नेतृत्व त्यसबाट सुरक्षित हुनेछ। जसले आरोप लगाइ रहेका छन् उनीहरू नै डामिने छन्। यसमा हामीले निर्भयताका साथ आफूलाई प्रस्तुत गर्न सक्नु पर्छ।’

उनले मुलुक बनाउन नेतृत्वलाई स्थापित गर्नुपर्ने भन्दै समाज नेतृत्वलाई बदनाम गर्ने र कृत्रिम आरोप लगाउने खालको भएको दाबी समेत गरे।

‘नेपालका प्रमुख राजनीतिक दलहरू जसले राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व गरेर आए उनीहरूको समय सकियो भन्ने भाष्य खडा गर्ने प्रयास भइरहेको छ,’ उनले भने ‘पुरानालाई हटाएर नयाँलाई अवसर दिनुपर्छ भन्दा राम्रो लागे पनि यस्तो दुष्टिकोणको आधारमा कुनै देश बनेको देखिँदैन। मुलुक बनाउने हो भने नेतृत्वलाई स्थापित गर्नुपर्छ। तर बनेको नेतृत्वलाई बदनाम गर्ने कृत्रिम आरोप लगाउने परम्परा छ।’

नेपालको राजनीतिमा आइरहेका बदलाव र चुनौतीको बारेमा जुन हिसाबले युवाहरूका बिचमा बहस हुनुपर्ने हो त्यो नभएको भन्दै उनले त्यसको सट्टामा सामाजिक सञ्जालमा आउने दूषित विचारहरूबाट युवा पुस्ता भ्रमित भइरहेको बताए।

साउन ३१, २०८१ शुक्रबार १७:५६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।