१६ हिमाल चढेका पासाङले पर्यटनमन्त्री भेटेर कल्याणकारी कोष बनाउन माग गरे

१६ हिमाल चढेका पासाङले पर्यटनमन्त्री भेटेर कल्याणकारी कोष बनाउन माग गरे

काठमाडौँ : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पासँग भेट गरेका छन्।

मन्त्री पाण्डेले शुक्रवार आरोही शेर्पालाई मन्त्रालयमा बोलाएर स्वागत समेत गरे। सोलुखुम्बुको खुम्बु गाउँपालिका घर भएका शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकको एउटै सिजनमा दुई पटक आरोहण गरेका थिए।

मन्त्री पाण्डेसँगको भेटमा शेर्पाले सरकारले कल्याणकारी कोष स्थापना गर्न सुझाव दिएका थिए। उनले हिमालमा हुने दुर्घटनाहरूमा हेली रेस्कु हुन गाह्रो हुने बताउँदै त्यसबारे आवश्यक प्रबन्ध गरिदिन र विदेशी आरोहीलाई क्याम्प टु–बाट आठ केजी फोहर अनिवार्य ल्याउनुपर्ने प्रावधान भएकाले त्यसलाई सहज बनाइदिन अनुरोध गरेका थिए।

मन्त्री पाण्डेले आरोहीहरूको कल्याणकारी कोष स्थापना र फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग बुझेर सहजीकरण गर्ने बताए।

५२ वर्षीय शेर्पा इमाजिन नेपाल ट्रेक्स कम्पनीका वरिष्ठ पर्वतारोहीको रूपमा चिनिन्छन्। उनले  सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से शार दुवै चुचुरोसँगै आरोहण गरेका थिए।

शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा चुचुरो तथा यालुङ खाङ र ल्होत्से शार गरी १६ वटा चुचुरोको आरोहण गरेका छन्।

कोरियाका अम होंङ गिलपछि शेर्पा १६ वटा चुचुरोहरूमा पाइला टेक्ने दोस्रो व्यक्ति हुन्। नेपालबाट १६ वटा चुचुरोमा पाइला टेक्न पहिलो भएको दाबी गरिएको छ।

साउन ३१, २०८१ शुक्रबार १४:२७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।