छ बुँदे माग राख्दै डा. गोविन्द केसीले फेरि दिए सत्याग्रहको चेतावनी
काठमाडौं : चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले फेरि सत्याग्रहको चेतावनी दिएका छन्। शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर विभिन्न छ माग राख्दै उनले सत्याग्रहको चेतावनी दिएका हुन्।
उनले हालै चिकित्सा शिक्षा ऐन र नियमावलीका कतिपय व्यवस्थाहरूलाई निष्प्रयोजित हुने गरि र संवैधानिक इजलासको क्षेत्राधिकार मिचेर सर्वोच्च अदालतको संयुक्त इजलासले फैसलालाई गरेको भन्दै त्यसविरुद्ध पुनरावलोकन गर्न माग गरेका छन्।
निर्मला कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई प्रदेश मन्त्री पदबाट तुरुन्त हटाएर उनीमाथि चलिरहेको छानबिन तथा अनुसन्धानलाई निष्पक्ष र तीव्र बनाउन पनि डा। केसीले सरकार तथा नेपाली कांग्रेसको ध्यानाकर्षण गराएका छन्।
नक्कली प्रमाणपत्र सम्बन्धी कसुरमा मेडिकल कलेज व्यवसायी तथा सांसद सुनील शर्मालाई तुरुन्त मुद्दा चलाई आवश्यक कारबाही गर्न समेत उनले जोडदार माग गरेका छन्।
सशस्त्र द्वन्दकालमा भएका मानवताविरोधी जघन्य अपराध र युद्ध अपराधका सबै दोषीहरूलाई दण्डित र पीडितहरूको लागि पूर्ण न्याय र क्षतिपूर्तिका साथै राजनीतिक सहमतिमा कुनै दोषीले उन्मुक्ति नपाउने सुनिश्चित गर्न भनेका छन्।
साथै उनले सबै नेपालीलाई नि:शुल्क औषधि-उपचारको व्यवस्था गर्न र चिकित्सा शिक्षामा उल्लिखित र विगतमा आफूहरूसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि भएका सम्झौताहरूको शीघ्र कार्यान्वयन गर्न समेत माग गरेका छन्।
मागहरू शीघ्र पूरा नभए कुनै पनि बेला सत्याग्रह सहितका कार्यक्रम शुरु गर्ने उनको चेतावनी छ।
साउन ३१, २०८१ शुक्रबार १३:४१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।