बंगलादेशको ग्राउन्ड रिपोर्ट : त्रासमा अल्पसङ्ख्यक, तर मन्दिरको सुरक्षामा खटिएका छन् मुस्लिन मौलाना

बंगलादेशको ग्राउन्ड रिपोर्ट : त्रासमा अल्पसङ्ख्यक, तर मन्दिरको सुरक्षामा खटिएका छन् मुस्लिन मौलाना

एजेन्सी : बीए की छात्रा अनु तालुकदार गत हप्तासम्म पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकार विरुद्ध भइरहेको विरोध प्रदर्शनमा सामेल थिइन्।

त्यस बेला अनुलाई आफू अरू विद्यार्थीहरूभन्दा फरक भएको महसुस भएको थिएन तर अहिले आफू फरक हुनुको अनुभव भइरहेको छ।

बंगलादेशको राजधानी ढाकाको प्रसिद्ध ढाकेश्वरी मन्दिरमा बिबिसीसँग अनु तालुकदारले भनिन्, ‘हामी धेरै असुरक्षित महसुस गरिरहेका छौँ। हामीलाई पहिले यस्तो लागेको थिएन, न त विरोध प्रदर्शनको समयमा हामीलाई डरको अनुभूति भएको थियो।’

उनी सरकार विरुद्धको विरोध प्रदर्शन र जनताको असन्तुष्टिको अभिव्यक्तिमा सक्रिय सहभागी भएको तर अहिले आफैँ सिकार हुनु परेकोमा दुखी देखिइन्।

शेख हसिनाले सत्ता छोडेर भारत पलायन भएपछि बंगलादेशमा र अन्य अल्पसङ्ख्यकहरूमाथि हिंसा भयो। हसिनाको निरंकुशताविरुद्ध हिन्दुसहितका अल्पसङ्ख्यक समुदायका सदस्यहरू पनि उत्तिकै सक्रिय रूपमा सहभागी भएका थिए। तर जब हसिनाले देश छाडिन् सत्ताविरुद्धको हिंसा रोकियो। तर अल्पसङ्ख्या समुदायमाथि आक्रमणका घटना सुरु भए। बंगलादेशमा अन्तरिम सरकार बनेको छ। तर अल्पसंख्याकको सुरक्षा गर्न सरकार प्रभावकारी हुन सकेको छैन।

मङ्गलवार बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ढाकेश्वरी मन्दिरको भ्रमण गरेर देशमा सबैको अधिकार समान भएको बताएका थिए।

अल्पसङ्ख्यकहरूको अधिकारका लागि काम गर्नेहरूका अनुसार शेख हसिनाले देश छोडेर गएपछि देशका ५२ जिल्लाहरूमा अल्पसङ्ख्यकहरूमाथि दुई सय बढी आक्रमण भइसकेका छन्।

हिंसा पीडित के भनिरहेका छन्?

हिन्दु र अन्य अल्पसङ्ख्यकहरू विरुद्ध कति ठुलो मात्रामा हिंसा भयो भन्ने बुझ्न ढाका शहरबाट बाहिर निस्किएर बिबिसी प्रतिनिधिले कोमिला कस्बासम्मको यात्रा गरे। कोमिला पूर्वोत्तर भारतको त्रिपुरा राज्यको सीमा नजिक छ। यो क्षेत्रमा सांप्रदायिक हिंसाको इतिहास रहेको छ।

कोमिलामा एउटा मोटरसाइकलको शोरुममा पुगे। त्यसको प्रमुख हुन् बिमल चन्द्र डे। उनी पाँच अगस्त अघिदेखि नै उपचारका लागि भारतमा छन्। शेख हसिनाले देश छोडेको खबर सुने लगत्तै उनले आफ्ना कर्मचारीहरूलाई शोरुमको सटर बन्द गर्न भने। उनलाई हिंसा हुने डर थियो। उनको आशंका सत्य भयो।

प्रत्यक्षदर्शीहरूका अनुसार दिउँस एक समूह शेख हसिनाको विरुद्ध नारा लगाउँदै आयो र विमलको शोरुममा आक्रमण गर्यो। केहीले मोटरसाइकलहरू चोरेर लगे अनि शोरुममा आगो लगाइदिए। त्यो समूहले विमलको शोरुम वरिपरिका अन्य पसलमा केही गरेनन्।

‘हामीमाथि आक्रमणको कारण अल्पसङ्ख्यक हुनु मात्र हो। बंगलादेशमा हिन्दुको रूपमा जन्मनु मेरो सबैभन्दा ठुलो गल्ती थियो’ भिडियो कलमा बिबिसीसँग कुरा गर्दै विमल चन्द्र डेले बताए, ‘हामी प्रत्याक्रमण गर्न सक्दैनौँ भन्ने उनीहरू जानकार थिए। त्यसैले उनीहरूले जे पनि गर्न सक्छन्।’

 हिन्दुहरूले बंगलादेशमा शेख हसिनाको अवामी लीग बाहेक अन्य दललाई मतदान गर्छन् भनेर धेरैले पत्याउँदैनन्। उनी देश फर्कन चाहन्छन्। उनी अन्तरिम सरकारसँग न्याय माग्दै आफ्नो क्षतिको क्षतिपूर्ति र घटनामा संलग्नमाथि कारबाहीको माग गरिरहेका छन्।

ढाकाबाट मुस्किलले तीस किलोमिटर टाढा छ मदनपुर।

मदनपुरका साँघुरा गल्लीहरू पार गर्दै फलामको विशाल गेट अगाडि रोकियौँ। जब यो ढोका खुल्यो, हाम्रो अगाडि एउटा कार्यालयको भयानक दृश्य थियो।

जलेका कागजातहरू र फर्निचर जताततै छरिएका थिए, झ्यालहरू फुटेका थिए। यो क्रिश्चियन को-अपरेटिभ क्रेडिट युनियनको कार्यालय थियो। यो साना-साना ऋण दिने एउटा संस्था हो, जहाँ कहिलेकाहीँ प्रार्थना सभा पनि आयोजना गरिन्थ्यो।

जब हामी यस कार्यालयको भिडियो बनाइरहेका थियौँ, एक त्रसित गार्डले हामीलाई चेतावनी दिए कि ‘यहाँ धेरै बेरसम्म नबस्नुहोस्। आक्रमण गर्नेहरू जुनसुकै बेला फर्किन सक्छन्।’

गार्डका अनुसार आक्रमणमा संलग्नहरू बारम्बार यहाँ आउँथे र जे सामान भेटिन्थ्यो लुटेर लैजान्थे। गार्डले सानो स्वरमा भने ‘तपाईँहरू यहाँ आउनुभन्दा केही मिनेट अघि मात्र उनीहरू यहाँबाट गएका छन्।’

कार्यालयका म्यानेजर राजमार्ग नजिक हामीसँग भेट्न तयार भए। उनले घटनाबारे जानकारी दिँदै भने ‘पाँच अगस्त राति १०:४० बजे सुरक्षा गार्डले हामीलाई फोन गरेर खबर दिए। हामी तुरुन्तै त्यहाँ पुग्यौँ। तर सबै जलाएर खरानी बनाइएको थियो, पैसा, कागजात, हाम्रा धार्मिक ग्रन्थहरू जलिसकेका थिए।’

तेस्रो दिन बिहान नौ बजेतिर उनी कार्यालय पुगेँ। केही मानिसहरू जबरजस्ती कार्यालयमा आएर किन आएको भनेर सोध्न थाले। उनले कार्यालय आफ्नो भएको बताए।

‘२०२० देखि हामीले यसै भवनबाट एउटा चर्च र सामुदायिक सेवा सुरु गरेका थियौँ। हामीलाई धेरै पटक धम्कीहरू आएको थियो। तर यस्तो आक्रमण भएको थिएन’ उनले भने। उनी आक्रमणकारीविरुद्ध उजुरी दिन चाहन्छन्। तर प्रहरी नै भेटिएका छैनन्।

अल्पसङ्ख्यकहरूमा डरको वातावरण

कोमिला र वरिपरिका गाउँहरूमा बस्ने हिन्दु समुदायका सदस्यहरूले हिंसाको कुनै घटना नभएको तर डर महसुस भइरहेको बताए।

गाउँमा बस्ने एक हिन्दुले ‘बंगलादेशमा हिन्दहरूकहाँ डकैती र आगजनीका धेरै घटनाहरू भएका छन्। सरकारले अब यसलाई नियन्त्रण गर्नुपर्छ।’

उनको यो चिन्ता गर्नुको पछाडि इतिहासका डरलाग्दा सम्झना गाँसिएको छ।

सन् २०२१ मा कोमिलाबाट सुरु भएको हिन्दुहरू विरुद्धको हिंसा पूरै देशभर फैलिएको थियो जसमा धेरै मानिसहरू मारिए। मुसलमानको भीडले धेरै मन्दिरहरू ध्वस्त पारे।

वास्तवमा बंगलादेशमा हिन्दु र मुसलमान धेरै पुस्तादेखि सँगै बस्दै आएका छन्। उनीहरूले बंगलादेशको स्वतन्त्रताको लडाई पनि सँगै लडेका हुन्। तर बंगलादेशमा साम्प्रदायिक हिंसाको इतिहास पनि त्यत्तिकै पुरानो छ।

 कोमिलाको छिमेकमा रहेको नोआखाली क्षेत्र स्वतन्त्रता पछि भड्केको साम्प्रदायिक हिंसाका आज पनि उत्तिकै सम्झन्छन्। त्यहाँ हजारौँ मानिस मारिएका थिए, महिलाहरूमाथि सामूहिक बलात्कार भएको थियो।

यहाँ भइरहेको साम्प्रदायिक हिंसालाई रोक्ने प्रयासमा महात्मा गान्धीले धेरै दिनसम्म अनशन गरेका थिए। उनी नोभेम्बर १९४६ देखि मार्च १९४७ सम्म यहाँ बसेका थिए।

अल्पसंख्यकहरूप्रति कस्तो व्यवहार छ?

बङ्गलादेश एउटा इस्लामिक देश हो वा धर्मनिरपेक्ष लोकतन्त्र? यसबारे भ्रम रहेको देखिन्छ। बंगलादेशको स्थापना एक धर्मनिरपेक्ष देशको रूपमा भएको थियो तर १९८० मा यसलाई इस्लामिक राष्ट्र घोषित गरियो।

त्यसको ३० वर्षपछि २०१० मा देशको सर्वोच्च अदालतले १९७२ को संविधानमा लेखिएको धर्मनिरपेक्षता कायम रहेको बतायो। बंगलादेशको संविधानमा यी दुवै कुरा उल्लेख छ तर धर्मनिरपेक्षतालाई लिएर सरकारको प्रतिबद्धता प्रश्नको घेरामा छ।

अन्तर्राष्ट्रिय संस्था फ्रिडम हाउसले गत वर्ष शेख हसिनाको शासनमा बंगलादेशलाई 'आंशिक रूपमा स्वतन्त्र' देशको दर्जामा राखेको थियो।

फ्रिडम हाउसले गत वर्षको प्रतिवेदनमा हिन्दु, इसाई, बुद्धिस्टका साथै शिया र अहमदिया मुसलमान समुदायका सदस्यहरूले जबरजस्ती, अत्याचार र हिंसाको सामना गर्नुपरिरहेको उल्लेख गरेको थियो।

‘धेरै पटक उनीहरू विरुद्ध उपद्रो गर्ने समूहले हिंसा गर्छ, उनीहरूका पूजास्थलहरूलाई निशाना बनाउँछन्। धार्मिक अल्पसङ्ख्यक विरुद्धको हिंसालाई सामाजिक सञ्जालमा जानीजानी भड्काइन्छ’ प्रतिवेदनमा भनिएको थियो।

वातावरण सुधार्ने प्रयास

राजधानीको ढाकेश्वरी मन्दिरमा हिन्दु समुदायका धेरै नेताहरूसँग भेट भयो। तिनीहरूमध्ये एक थिए गोपाल चन्द्र देवनाथ।

गोपाल देवनाथका अनुसार उनलाई गृहमन्त्रीले ‘तपाईँ मात्र होइन, तपाईँको समुदायको कुनै पनि सदस्यले कुनै पनि समयमा मद्दतको लागि मलाई सम्पर्क गर्न सक्नुहुन्छ’ भनेर आश्वासन दिएको बताए।

‘यहाँका हिन्दु समुदायका मानिसहरू धेरै शान्तिपूर्वक बस्छन्। यहाँका केही मानिसहरू हामी यो देश छोडेर गयौँ भने उनीहरूले हाम्रा जमिन र हाम्रा सम्पत्तिहरूमाथि कब्जा गर्न चाहन्छन्। उनीहरूले राजनीतिक कारणहरूले पनि हामीलाई डराउने कोसिस गर्छन्’ उनले भने।

मुस्लिम समुदायका सदस्यले गरिरहेका छन् मन्दिरको रक्षा

कोमिलाको मुख्य मन्दिरमा हाम्रो भेट अनिर्वाण सेनगुप्तासँग भयो। उनी हरेक दिन मन्दिरमा प्रार्थना गर्न आउँछन्।

अनिर्वाणका अनुसार प्रहरीहरू नभए पनि सर्वसाधारण समाजमा साम्प्रदायिक सद्भाव कायम राख्ने प्रयासमा छन्। मुस्लिम समुदायका पाँचदेखि दश जना व्यक्तिहरूले हरेक रात मन्दिरको सुरक्षा गरिरहेका छन्।

हामी राजधानीको ढाकेश्वरी मन्दिरबाट बाहिर निस्कँदा मन्दिरको गेट बाहिर दुई जना हातमा लाठी लिएर बसिरहेको देख्यौँ। तिनीहरूमध्ये अलि कम उमेरका थिए मुहम्मद सैफुज्जमान। उनी पेसाले एक मौलवी हुन्।

मैले सोधेँ उनी मन्दिर बाहिर के गरिरहेका छन्?

सैफुज्जमानले भने, ‘जबदेखि प्रहरी छैनन् तब यहाँका मानिसहरूले असुरक्षित महसुस गरिरहेका थिए। उनीहरूलाई कुनै समस्या नहोस् भनेर सुनिश्चित गर्न यहाँ आएको हुँ।’

बङ्गलादेश धर्मको आधारमा विभाजित छैन भन्ने सन्देश फैलाउन आफू मन्दिरको सुरक्षामा खटिएको भन्दै उनले धेरै मुस्लिम सङ्गठनहरूले पालैपालो मन्दिरको सुरक्षाको ख्याल राखिरहेको बताए।

भाइरल भिडियो र सोसल मिडिया

डर र त्रासको वातावरणमा गलत जानकारी र अफवाहले आगोमा घिउ थप्ने काम गरिरहेको देखियो। सोसल मिडिया अनुगमन गर्ने टूल ब्रान्डवाचका अनुसार, एक विशेष ह्यासट्यागसँग झूटा कथाहरू पोस्ट गरिएका थिए।

ब्रान्डवाचको तथ्याङ्क अनुसार अगस्त ४ देखि ९ को बिचमा त्यो ह्यासट्याग सात लाख पटक प्रयोग गरियो। एक्समा गरिएका धेरैजसो पोस्टहरू भारतमा जियोलोकेट भएका थिए।

एउटा भाइरल पोस्टमा हिन्दु क्रिकेटर लिटन दासको घर जलाइएको झूटो दाबी गरिएको थियो। अर्को सोसल मिडिया खातामा उनको घर 'इस्लामिक कट्टरपन्थीहरू'द्वारा जलाइएको दाबी गरिएको थियो।

बिबिसी भेरिफाईले स्थानीय समाचारसँग यो दाबीबारे बुझ्दा सोसल मिडिया पोस्टका तस्बिरहरूमा लिटन दासको भनिएको घर वास्तवमा बङ्गलादेश क्रिकेट टिमका पूर्व कप्तान मशरफे मुर्तजाको थियो। उनी सत्तारूढ अवामी लीग पार्टीसँग सम्बद्ध छन् र बंगलादेशको संसद सदस्य थिए।

अर्को भाइरल पोस्टमा ‘बंगलादेशमा इस्लामिक उग्रवादीहरूको भीडले एउटा मन्दिरमा आक्रमण गरेको’ उल्लेख थियो। यो आगलागी चट्टग्रामको नवग्रह मन्दिर नजिक भएको थियो, तर मन्दिर यो आगोको चपेटामा परेको थिएन।

उथलपुथल भरिएको राजनीति

ढाकाको गुलशन क्षेत्रमा एक राजनीतिक विश्लेषक अशरफ कैसरसँग भेट भयो। अशरफका अनुसार अल्पसङ्ख्यकहरूमाथि आक्रमण भइरहेका छन्। उनी यो कथा सत्तामा रहेको पार्टीको व्यापक रणनीतिको एक हिस्सा रहेको शंका गर्छन्।

‘बंगलादेशमा इस्लामिक कट्टरपन्थीहरूको कब्जा भएको र अब देश सुरक्षित हातमा छैन भन्ने सन्देश फैलाएर बंगलादेशको विषयमा भारतलाई हस्तक्षेप गराउने रणनीति पनि हुनसक्छ’ उनले भने।

हिन्दूहरूबीच असुरक्षाको भावनाले बीजेपी र अवामी लीगलाई जोड्ने र अवामी लीगलाई राजनीतिक सहयोग दिन पनि हिन्दुमाथि हमला भएको हुनसक्ने उनको आशंका छ। बंगलादेशमा हिन्दुको संख्या नौ प्रतिशत हाराहारी रहेको मानिन्छ।

सामान्य हुँदै छ अवस्था

बंगलादेशका शहरहरूको अवस्था सामान्य हुने प्रयासमा रहेको देखिन्छ। विरोध प्रदर्शन गर्ने विद्यार्थीहरू अब भित्ताहरूमा नयाँ रङ्ग लगाउँदै छन्।

उनीहरू सोसल मिडियामार्फत आफ्नो लागि कोष जुटाउने प्रयास गरिरहेका छन्। कार्यालय, पसल र बजारहरू खुल्न थालेका छन् र तिनीहरूमा ग्राहकहरूको भीड देखिन थालेको छ।

सडकहरूमा यातायात व्यवस्थापन विद्यार्थी र स्वयंसेवकहरूको भरबाट बिस्तारै ट्राफिक प्रहरीले जिम्मेवारी सम्हाल्दै छन्।

शेख हसिना देश छोड्दासम्म सयौँ विद्यार्थीहरूको मृत्युको जिम्मेवार मानिएका प्रहरी विरुद्ध आक्रोशको वातावरण थियो। उनीहरू पनि अब आ-आफ्नो प्रहरी चौकीमा काममा फर्किरहेका छन्। तर शहरहरूमा अझै पनि प्रहरी कम नै देखिन्छन्। ग्रामीण क्षेत्रहरूमा असुरक्षाको वातावरण शहरहरूभन्दा बढी छ। 

साउन ३१, २०८१ शुक्रबार १३:३८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।