‘ह्रस्व दीर्घ’ : हचुवामा घोषणा, अहिले दर्शकसँग माफी माग्दैको सास्ती
काठमाडौं : हचुवाको भरमा अनि हतारमा फिल्मको प्रदर्शन मिति घोषणा गर्ने अनि फुर्सदमा पछुताउने नेपाली फिल्म निर्माताहरूको पुरानो रोग हो।
घोषणा गरेको मितिमा फिल्म प्रदर्शन गर्न नसकिने भएपछि फिल्मको प्राविधिक काम नसकिएको र हलवालाले शो उपलब्ध नगराएको उनीहरूको रेडिमेड बहाना हो।
दक्षिण भारतीय फिल्मका कलाकारको अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा पनि हतारमा घोषणा गरेर फुर्सदमा पछुताउने रोग सरेको छ। असोज तीन गतेका लागि प्रदर्शन मिति तोकिएको फिल्मको प्रदर्शन अब स्थगित भएको छ, कारण हो- प्राविधिक काम नसकिएको।
फिल्मकी अभिनेत्री तथा निर्मात्री समेत रहेकी नीता ढुङ्गानाले सामाजिक सञ्जालमार्फत तोकिएको मितिमा फिल्म प्रदर्शन गर्न नसकेकोमा माफी मागेकी छन्। फिल्मको प्राविधिक काम भारतमा भइरहेको र केही समय अझै लाग्ने भएको उनले बताएकी छन्।
उनले भनेकी छन्, ‘निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइ आएकोले उक्त मितिमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौँ।’
नेपाली फिल्म क्षेत्रमा केही नयाँ र भिन्न गर्ने सोचले नेपालीसँगै बलिउड र दक्षिण भारतीय कलाकारका साथै प्राविधिक जोडेर ठूलो जोखिमका बीच फिल्म निर्माण गरिरहेको उनको भनाइ छ। उनका अनुसार फिल्मको नयाँ प्रदर्शन मिति केही दिनमा घोषणा गरिनेछ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा नीताका अलवा हरिहर अधिकारी, दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको अभिनय रहेको छ।
तीन दिनअघि फिल्ममा समावेश गीत ‘उठेर नाचिस्यो’ रिलिज भएको थियो। दुर्गेश थापाको शब्द संगीत तथा स्वरमा रहेको गीत केही आलोचित समेत बन्न पुग्यो।
साउन ३२, २०८१ शुक्रबार १३:०१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।