१२ वर्ष कतारमा बिताएर फर्किएका ओमराजको नयाँ परिचय, एक करोड ५० लाख लगानीमा बने उद्यमी
बागलुङ : बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्मा वैदेशिक रोजगारीमा कतार गए। उनी १२ वर्ष कतारमै श्रम गरेर बसे।
१२ वर्ष कतारमा काम गरेर स्वदेश फर्किएका उनी अहिले आफ्नो गाउँमा उद्यमी बन्ने प्रयासमा छन्। उनले एक करोड ५० लाख रुपैयाँको लगानीमा तीन हजार लेयर्स जातका कुखुरा पालेका छन्।
उनले छ हजार कुखुरा पाल्न मिल्ने फार्म बनाएका छन्। त्यसैले अब त्यही फार्ममा तीन हजार चल्ला थप्ने तयारीमा रहेको शर्माले बताए।
उनले वैदेशिक रोजगारीको आर्जनसहितको एक करोड ५० लाख लगानीमा पहिला ग्रिनल्यान्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरे।
उनको फार्म कालीमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ। उनले अलि बढी प्राथमिकता कुखुरा पालनमा दिए पनि फार्ममा गाई र बाख्रा पनि पालिएको छ।
उनले काम सुरु गरेको पाँच वर्ष भयो। प्रारम्भमा सामूहिक रूपमा फार्म सुरु गरिएको थियो। तर पछिल्लो तीन वर्षदेखि शर्माले एक्लैले फार्म चलाइरहेका छन्। मिहेनतले उनको फार्म जिल्लामै सबैभन्दा ठुलो अण्डा उत्पादन गर्ने फार्मको रूपमा परिचित छ।
‘कुखुरा पालन व्यवसाय निकै जोखिमपूर्ण हुन्छ, छ महिनासम्म हुर्काएका कुखुराले फूल पार्न थालेपछि आम्दानी हुन्छ, त्यो समयसम्म लगानी मात्र गर्ने हो,’ उनले भने ‘बजार अस्थिर छ, अण्डाको मूल्यमा उतारचढाव हुन्छ, तर हिम्मत हारिएन। अहिले फार्मलाई जिल्लाकै ठुलो अण्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु’ उनले रासससँग भने।
उनी आफैँ फार्ममा खटिन्छन्। अन्य चार जनाले पनि फार्ममा प्रत्यक्ष रोजगारी पाएका छन्। उनको फार्ममा उत्पादित दैनिक तीन हजार अण्डा बागलुङमा खपत भइरहेको छ।
तीन हजार कुखुरा हुर्काएर अण्डा दिने बनाउन २५ लाख लाग्ने बताउँदै शर्माले व्यावसायिक रूपमा गाई र बाख्रा पाल्ने योजना रहेको बताए।
साउन ३१, २०८१ शुक्रबार १२:२७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।