गठ्ठाघर दुर्घटनाको सीसीटिभी फुटेज सार्वजनिक

गठ्ठाघर दुर्घटनाको सीसीटिभी फुटेज सार्वजनिक

काठमाडौं : गठ्ठाघर दुर्घटनाको क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) फुटेज सार्वजनिक भएको छ।

सार्वजनिक फुटेजमा हिँड्दा हिँड्दै ट्रकले स्कुटरलाई ठक्कर दिएको देखिएको छ। ओरालो आएपछि स्कुटरले हल्का बिस्तारै गुडे पनि ट्रक भने केही गतिमा देखिन्छ।

स्कुटरलाई लडाएपछि ट्रक रोकिएको छ भने छेउमै रहेका ट्राफिक प्रहरी कुदेर ट्रक भएको ठाउँमा पुगेका छन्। ट्रक रोकेपछि ट्रकका ड्राइभर भागेको सीसीटिभी फुटेजमा देखिन्छ।

दुर्घटनाबाट ओखलढुंगाको चिंखुगढी छहरेका उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।

मृतकका आफन्तले दुर्घटनाको छानबिनका लागि समिति नबन्दासम्म शव नबुझ्ने अडान लिएका छन्।

घटनापछि ट्राफिक प्रहरीको चेकिङका कारण सवारी दुर्घटनामा परेको भन्दै आक्रोश पोखेका थिए। बीच सडकमा ट्राफिक चाँज गरेका कारण ट्रकले पछाडिबाट हानेको अफवाह फैलिएपछि भिड उत्तेजित हुँदै ट्रकका साथै ट्राफिक प्रहरीको बुथ समेत तोडफोड गरेका छन्।

त्यस क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गर्नुपरेको थियो। दिउँसो दुई बजे भएको घटनापछि दिनभर गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको थियो।

तर, ट्राफिक प्रहरीको चेकिङका कारण ट्रकले स्कुटरलाई हानेको भने भिडियोमा देखिँदैन। यद्यपि छेउमै दुई जना ट्राफिकले  एउटा मोटरसाइकल भने रोकिराखेको देखिन्छ।

साउन ३१, २०८१ शुक्रबार १२:२२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।