लाखे नाच सिक्दैछन् कावासोतीका नेवार समुदायको नयाँ पुस्ता

लाखे नाच सिक्दैछन् कावासोतीका नेवार समुदायको नयाँ पुस्ता

नवलपरासी : बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेका छन्। कावासोतीका नेवार समुदायका अगुवाहरूले आफ्नो सांस्कृतिक कला नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम चलाएका हुन्।

सीका नेवा: गुठीले युवाहरूलाई नेवार समुदायको जीवनसँग जोडिएको लाखे नाच, धिमेबाजा, मादल र झ्यालीको प्रशिक्षण दिएको हो।

गुठीका अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार गुठीले बालबालिका र युवालाई कला, संस्कृति जगेर्ना गर्न लाखेनाच, धिमेबाजा नेवार समुदायको परम्परागत सांस्कृतिक महत्त्वसँग जोडिएको कला सिकाएको हो।

सीका नेवा: गुठीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि गत वर्ष पनि ४५ दिनको धिमे बाजा प्रशिक्षण सञ्चालन गरेको थियो।

गत वर्षको प्रशिक्षणले सकारात्मक प्रभाव पारेपछि यस वर्ष लाखे नाचसहितको प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताए।

‘गाईजात्रामा बजाउनुपर्ने  धिमेबाजा, मादल, झ्याली र ढलकीको व्यावहारिक तालिम नयाँ पुस्तालाई दिइरहेका छौँ, पुरानो पुस्ताको सीप पनि क्रमशः हस्तान्तरण गर्दैछौँ”, उनले भने।

बालबालिकालाई वाद्यवादन सीप र परम्परागत नाच सिकाउँदा उनीहरूले छिटो सिक्ने हुँदा नयाँ पुस्तामार्फत परम्परा संरक्षण अभियान थालिएको गुठीका सल्लाहकार झकनारायण श्रेष्ठले बताए।

नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दसैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको उनले जानकारी दिए।

साउन ३१, २०८१ शुक्रबार ११:३७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।