१५ करोड खर्च गरेर बनेको आधारभूत अस्पताल भवन प्रयोगहीन, २ करोड तिर्न नसक्दा हस्तान्तरण भएन

१५ करोड खर्च गरेर बनेको आधारभूत अस्पताल भवन प्रयोगहीन, २ करोड तिर्न नसक्दा हस्तान्तरण भएन

नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन बनिसकेको छ। तर प्रयोगमा आएको छैन।

प्रयोगमा नआउनुको कारण हो निर्माण कम्पनीले भुक्तानी नपाउनु। भवन निर्माणको काम सकिएको पाँच महिना भइसक्यो। दुई करोड २५ लाख तिर्न नसक्दा भवन हस्तान्तरण हुन सकेको छैन।

प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएकाले गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो।

‘निर्माण व्यवसायीलाई दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ। रकम आएपछि भुक्तानी गर्छौँ,’ उनले भने।

बौदिकाली गाउँपालिका–२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको थियो। अस्पताल १५ शय्याको हो।

निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको प्रशासकीय अधिकृत बस्नेतले बताए।

साउन ३१, २०८१ शुक्रबार ११:२५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।