इजरायली आक्रमणमा मारिने प्यालेस्टाइनीको संख्या ४० हजार नाघ्यो, १८ लाख मानिस विस्थापित

इजरायली आक्रमणमा मारिने प्यालेस्टाइनीको संख्या ४० हजार नाघ्यो, १८ लाख मानिस विस्थापित

एजेन्सी : इजरायल र हमासबीच जारी युद्धमा मारिने प्यालेस्टाइनीको संख्या ४० हजार नाघेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले अगस्ट १५ मा यसबारे जानकारी दिएको हो। गाजामा इजरायली हमलामा हालसम्म ९० हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्।

मन्त्रालयले जारी गरेको तथ्याङ्कमा हमासका लडाकुसमेत समावेश छन्। धेरै शव अझै पनि भग्नावशेषमा दबिएका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ।

इजरायल र हमासबीच ११ महिनादेखि गाजामा युद्ध चलिरहेको छ। गत वर्ष अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा आक्रमण गरेका थिए। आक्रमणमा करिब एक हजार २०० इजरायली नागरिक मारिएका थिए भने लडाकुहरूले गाजामा रहेका करिब २५० जनालाई बन्धक बनाएका थिए।

इजरायलका अनुसार हमासले अझै ३९ शवसहित एक सय ११ जनालाई बन्दी छन्। बन्धक हुनेहरूमा १५ महिला र पाँच वर्ष मुनिका दुई बालबालिका रहेका छन्।

अक्टोबर ७ को हमलापछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको थियो। यस युद्धमा अहिलेसम्म ३२९ इजरायली सैनिकको मृत्यु भइसकेको छ।

इजरायली सेनाका अनुसार उनीहरूले हालसम्म १५ हजार हमास लडाकुहरूलाई मारेका छन्। युद्धका कारण गाजामा करिब १८ लाख मानिसले आफ्नो घरबार छोडेका छन्। गाजाका मात्र ८५ प्रतिशत जनता आफ्नो घरबाट विस्थापित भएका छन्।

युद्धका कारण गाजामा पाँच लाख मानिसले खाद्य संकटको सामना गरेका छन्। यो संख्या गाजाको कुल जनसंख्याको करिब एक चौथाई हो।

रिपोर्टका अनुसार इजरायली आक्रमणले गाजाका ५९ प्रतिशत भवन ध्वस्त पारेको छ। उत्तरी गाजा मा यो संख्या ७० प्रतिशतभन्दा बढी छ।

साउन ३१, २०८१ शुक्रबार १०:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।