स्काइवेलको आधिकारिक विक्रेता विवादमा जि मोटर्स अदालत गयो, सब डिलर आएर भ्रम फैलाउने काम भएको दाबी
काठमाडौँ : चिनिया इलेक्ट्रिक कार स्काइवेलको नेपालका लागि आधिकारिक विक्रेताबारे विवाद भएपछि जि मोटर्स उच्च अदालत पाटन गएको छ।
जि मोटर्सले स्काईवेलको आधिकारिक विक्रेताको रूपमा नेपालमा सो ब्रान्डका गाडीहरू भित्र्याउँदै आएको छ।
अर्को एलआरआर मोटर्सले समेत स्काईवेलको गाडीको नेपालका लागि डिलरको दाबी गरेपछि जि मोटर्स रिट लिएर उच्च अदालत गएको हो।
जि मोटर्स स्काइवेल गाडीको उत्पादक कम्पनी स्काइवेलको मूल उत्पादक कम्पनी नान्जिङ गोल्डन ड्रागन बस कम्पनी लिमिटेडबाट आधिकारिक वितरक रहेको खुलेको छ।
सो कम्पनीले जि मोटर्सलाई पठाएको इमेलमा नेपालको लागि स्काइवेलको आधिकारिक विक्रेता जि मोटर्स रहेको उल्लेख छ।
एलआरआर मोटर्सले भने हङकङमा रहेको स्काइवेलको डिलरमार्फत नेपालका लागि सब–डिलर लिएको खुलेको छ।
मूल उत्पादक कम्पनीले जि मोटर्सलाई डिलरसिप दिइसके पनि हंङकङको डिलरको सब डिलर लिएर व्यापारिक क्षति पुर्याउने उद्देश्यले अवैध रूपमा अर्को कम्पनी नेपाल आएको दाबी सहित जि मोटर्सले उच्च अदालत पाटनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायतलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ।
जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले चिनियाँ उत्पादक कम्पनीले आधिकारिक बिक्रेताको अधिकार जी मोटर्सलाई दिएको महिनौपछि अर्को कम्पनी गैर कानुनी ढङ्गले स्काइवेलको व्यापारमा छिरेपछि आफूहरू अदालत गएको बताए। वाणिज्य विभागको समेत मिलेमतोमा गैर कानुनी काम भएको उनको दाबी छ।
गेलाल भन्छन्,‘जि मोटर्स स्काईवेल ब्रान्डका गाडीहरूको नेपालमा एक मात्र आधिकारिक वितरक हो। एलआरआरले हङकङको कुनै एजेन्टसँग सम्झौता गरेको रहेछ। यसमा वाणिज्य विभागको पनि मिलेमतो देखिन्छ। यो विषयमा चीनको स्काईवेल कम्पनीले सम्बन्धित पक्षहरूलाई सूचित गरिसकेको छ।’
साउन ३१, २०८१ शुक्रबार ०८:४०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।