आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ

आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ

काठमाडौं : आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको संयुक्त रुपमा शुभारम्भ गरेका हुन्।

मर्जरपछि बनेको आइएमईको चुक्ता पुँजी एक अर्ब नाघेको छ। एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैकको प्राथमिकताबमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताए। 

डेपुटी गभर्नर मिश्रले रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताए।​​​​​​ सोही अवसरमा आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्ष पहिले कम्पनी स्थापनाको समयलाई स्मरण गरे। 

अध्यक्ष ढकालले भने, ‘सन् २००१ अर्थात् आजभन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमईको यात्रा त्यो समय पक्कै पनि सहज थिएन। जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पु¥याउन झेलिरहेका समस्याहरू देखेका हामीहरूले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो।’

अध्यक्ष ढकालले आइएमईलाई चाडै नै पब्लिकमा लैजाने जानकारी दिँदै जनतालाई नै मालिक बनाउने आफूहरुको पहल भएको बताए।

रेमिट्यान्सको आकार बढेको, डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भएकाले  रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तारमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने विस्वास रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे।

सो अवसरमा एकीकृत कारोवार पश्चात आइएमई लिमिटेडका अध्यक्ष बनेका हेमराज ढकालले रेमिट्यान्सलाई औपचारिक अर्थतन्त्रमा जोड्दै देशको सामाजिक-आर्थिक रुपान्तरणको संवाहक बनेको आइएमईले अझ सबल र डिजिटल रेमिट्यान्सको लिडरको रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

साउन ३१, २०८१ शुक्रबार ०७:४८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।