अफगानिस्तानमा तालिबानले १४ लाख महिलालाई  पढ्न दिएनन्

अफगानिस्तानमा तालिबानले १४ लाख महिलालाई  पढ्न दिएनन्

एजेन्सी : तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले जनाएको छ।    

अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश हो। सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले आफ्नो शरिया वा इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौँ कक्षाभन्दा माथि महिला शिक्षामा रोक लगाएको थियो।    

तालिवान सरकारले पुरुष शिक्षामा रोक लगाएको छैन भने महिलाका लागि कक्षाकोठा र क्याम्पसहरू पुनः खोल्ने कुनै सङ्केत देखाएको छैन।

तालिबान सरकारले सत्ता कब्जा गरेदेखि कम्तिमा १४ लाख केटीहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बिहीबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ। यो सङख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी हो।    

‘यदि हामीले प्रतिबन्ध लागू हुनुअघि नै शिक्षाको पहुँच नभएका महिलाहरूलाई जोड्ने हो भने अब देशमा लगभग २५ लाख महिला शिक्षाको अधिकारबाट वञ्चित छन्। यो तथ्याङ्कले ८० प्रतिशत विद्यालय जाने उमेरका युवतीहरूको प्रतिनिधित्व गर्दछ’, युनेस्कोले भनेको छ।    

तालिबान सरकारले यो टिप्पणीको कुनै जवाफ दिएको छैन। युनेस्कोका अधिकारीहरूले अफगानिस्तानमा शिक्षाको क्षेत्रमा दुई दशकको स्थिर प्रगति लगभग समाप्त भएको चेतावनी समेत दिएका छन्।

साउन ३१, २०८१ शुक्रबार ०१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।