गुनासो सुन्न कोशीका मुख्यमन्त्रीले सुरुवात गरे ‘हेलो सिएम’, गुनासो टिपाउने समय १०-५
मोरङ : जनताको गुनासो सुन्न र सम्बोधन गर्न भन्दै कोशी प्रदेश सरकारले बिहीबारबाट ‘हेलो सिएम’ गुनासो व्यवस्थापन प्रणाली सुरु गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अलग कक्ष निर्माण गरी कर्मचारीको व्यवस्थापन गरेर ‘हेलो सिएम’ सञ्चालनमा ल्याइएको हो।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेलो सिएम’ एवं गुनासो व्यवस्थापन प्रणाली कक्षको डिजिटल माध्यमबाट सुरुवात गरेका थिए।
हाललाई बिहान १० देखि ५ बजेसम्म सरकारी तथा सार्वजनिक निकायबाट भएका काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष एवं सरल तरिकाले गुनासो गर्न सकिने र प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गरी सुशासनको प्रत्याभूति गर्नु मुख्य उद्देश्य रहेको प्रदेश सरकारको दाबी छ।
प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारद्वारा निर्देशिका बनाइ पोर्टल सञ्चालन गरिएको हो।
मुख्यमन्त्री कार्कीले पोर्टलबाट शासकीय सुधारमा सहयोग पुग्ने बताए। उनले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन पोर्टलको माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुने बताए।
मुख्यमन्त्री कार्कीले सुशासनबाट जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन समेत दिएका थिए।
साउन ३१, २०८१ बिहीबार २३:१०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।