गठ्ठाघर दुर्घटनाको कारण ट्राफिक कि ट्रकको तीव्र गति ?

गठ्ठाघर दुर्घटनाको कारण ट्राफिक कि ट्रकको तीव्र गति ?

काठमाडौँ : बिहीबार दिउस भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाले दिनभर तनावग्रस्त भयो सो क्षेत्र। करिब दुई हजारको सङ्ख्यामा स्थानीयहरू भेला भएर विरोध प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी अनि सशस्त्र प्रहरी नै परिचालित हुनुपर्यो।

ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरको स्कुटर चालकलाई टक्कर दिँदा स्कुटी चालकको घटनास्थलमै मृत्यु भएको थियो।

ट्राफिक प्रहरीले स्कुटर रोकेर बाटोबाट छेउ समेत नलगाई जाँच गर्दा तीव्र गतिमा आइरहेको ट्रकले ठक्कर दिएको भन्दै स्थानीय आन्दोलित भएका थिए।

उनीहरूले घटनामा संलग्न प्रहरीमाथि कारबाहीको माग समेत गरे। तर प्रहरीले भने ट्राफिक प्रहरीले बाटैमा स्कुटर रोकेर जाँच गर्दा दुर्घटना भएको दाबी अस्वीकार गरेको छ।

प्रहरीले दुर्घटनाको समयमा ट्राफिक प्रहरीले स्पिड गनमार्फत सवारीको गति जाँचिरहेको बेलामा तीव्र गतिमा आएको ट्रकले गति घटाउन खोज्दा दुर्घटना भएको दाबी गरेको छ। तर स्थानीय प्रहरीको दाबी पत्याउन तयार छैन।

दुर्घटनाको कारण ट्राफिक प्रहरीको व्यवहार रहेको आरोप लागेपछि अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले सो क्षेत्रको क्लोज सर्किट टेलिभिजनको दृश्य हेरेर अनुसन्धान अगाडि बढाएको छ।

कार्यालयस्रोतका अनुसार सिसिटिभी फुटेजमा ट्राफिकले स्कुटर वा ट्रक रोकेर जाँच गरेको नदेखिएको बरु दुर्घटनापछि ट्राफिक प्रहरी दौडँदै गएको देखिएको उकेरासँग बतायो।

प्रहरीमाथि गम्भीर आरोप लागेकाले ट्राफिक प्रहरी कार्यालयले घटनाको छानबिन गर्ने तयारी गरेको छ। उता मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको छ प्रहरीले।     घटनामा संलग्न ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ।

सम्बन्धित समाचार :

साउन ३०, २०८१ बिहीबार २२:१५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।