त्रिभुवन विमानस्थलबाट ५० ग्रामको सुनको सिक्रीसहित दुईजना पक्राउ

त्रिभुवन विमानस्थलबाट ५० ग्रामको सुनको सिक्रीसहित दुईजना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट अवैध रुपमा सङ्कलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–५ घर भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका–५ घर भएका २२ वर्षीया नारायण थापा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए। 

उनले भने, 'एयर अरेबियाको उडानमार्फत बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रुपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा उक्त धातु (सुन) सहित प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।'

आज बिहान करिब ५० ग्राम तौलको दुई थान सिक्रीसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुलाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गलमा पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।  

साउन ३०, २०८१ बिहीबार २१:५५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।