शेखरले अहिलेदेखि गरे घोषणा : आगामी महाधिवेशनमा सभापतिमा उठ्छु, अन्यथा लिनु हुँदैन

शेखरले अहिलेदेखि गरे घोषणा : आगामी महाधिवेशनमा सभापतिमा उठ्छु, अन्यथा लिनु हुँदैन
फाइल

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारमा कांग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताएका छन्। 

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको जानकारी दिए। 

उनले विगत एक वर्षदेखि आफूले एमाले र कांग्रेसबीच गठबन्धन हुनुपर्छ भनेकाले पनि यो सरकारलाई भत्काउने कार्य आफूबाट कुनै हालतमा नहुने दाबी गरे। 

नेता कोइरालाले संविधानमा लेखिएअनुसार समावेशी समानुपातिक कायम राखी संविधानमा सुधार गरी निर्वाचन प्रणाली संशोधन गरी बहुमतको सरकार निर्माण हुनेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए। 

फरक प्रसंगमा उनले आगामी १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू हुने भन्दै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने माग गरे। 

कोइरालाले अघिल्लो महाधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएकाले आगामी महाधिवेशनमा स्वतः दाबी रहने र आफ्नो उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने बताए।

साउन ३०, २०८१ बिहीबार २१:३५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।