आर्थिक संकटपछि श्रीलंकामा राष्ट्रपतीय निर्वाचन हुँदै : ३८ जना चुनावी मैदानमा, एकजना पनि छैनन् महिला

आर्थिक संकटपछि श्रीलंकामा राष्ट्रपतीय निर्वाचन हुँदै : ३८ जना चुनावी मैदानमा, एकजना पनि छैनन् महिला

कोलम्बो : श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आगामी महिना हुने निर्वाचनमा ३८ जना प्रतिद्वन्द्वी रहेको निर्वाचन आयोगले जनाएको छ।

दुई वर्षअघि विक्रमासिङ्घेले सत्ता सम्हालेयताको यो पहिलो मतदान हो। श्रीलंकामा अकल्पनीय आर्थिक सङ्कटका कारण आक्रोशित प्रदर्शनकारीहरूले शक्तिशाली राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेपछि उनले सत्ताको बागडोर सम्हालेका थिए। 

उमेरले ७५ वर्षमा हिँडिरहेका विक्रमासिङ्घेलाई विपक्षी दलका संसदीय नेता ५७ वर्षीय राजनीतिज्ञ प्रेमदासा र ५५ वर्षीय वामपन्थी नेता अनुरा कुमारा दिसानायकाले चुनौती दिएका छन्।

तर, त्रिपक्षीय लडाइँका रूपमा सुरू भएको यो प्रतिस्पर्धा प्रभावशाली राजापाक्षे परिवारले विक्रमासिङ्घेलाई दिएको महत्वपूर्ण समर्थन फिर्ता लिएपछि र आफ्नै उम्मेदवार निर्मल राजापाक्षलाई उठाएपछि गत सातादेखि चुनौती झनै पेचिलो बनेको छ। 

पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा तथा गोटबायाका भाइसमेत रहेका ३८ वर्षीय राजापाक्षे राजापाक्षे संसद सदस्य हुन्।

करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बौद्ध बहुल श्रीलङ्कामा सेप्टेम्बर २१ मा मतदान हुँदैछ।

निर्वाचन आयोगका अध्यक्ष आर.एम.ए.एल.रथनायकेका अनुसार ३९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् र जसमध्ये कोही पनि महिला छैनन्।

निर्वाचनका सन्दर्भमा उनले भने, 'तपाईंको अभियानलाई मद्दत गर्न कुनै पनि अवैध गतिविधिमा सार्वजनिक अधिकारीहरूलाई प्रभावित नगर्नुहोस्।'

श्रीलंकामा निर्वाचनसम्बन्धी कानुन उल्लङ्घन हुनु सामान्य कुरा हो, तर अभियोजन भने बिरलै हुने गरेको छ।

सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा गोटबाया राजापाक्षेले ३५ जना उम्मेदवारलाई पराजित गरेका थिए। तर, उनलाई सन् २०२२ मा अर्थव्यवस्थाको गलत व्यवस्थापनको विरोधमा महिनौंसम्म चलेको विरोध प्रदर्शनपछि राजीनामा दिन बाध्य पारिएको थियो।

विक्रमासिङ्घे सन् २०२२ को जुलाईमा राजापाक्षेको बाँकी कार्यकालका लागि संसदबाट राष्ट्रपति निर्वाचित भएका थिए। 

श्रीलङ्कामा एक करोड ७० लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउँछन् भने आधुनिक मतदान अभ्यास (विद्युतीय मतदान)का कारण मतदान भएको एक दिनभित्र परिणाम आउने अपेक्षा गरिएको छ।  

साउन ३०, २०८१ बिहीबार २०:४८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।