केही महिनापछि अवकाश हुनेवाला थिइन् शिक्षिका सावित्रादेवी, विद्यालय जाँदैगर्दा पहिरोले पुरिएर मृत्यु

केही महिनापछि अवकाश हुनेवाला थिइन् शिक्षिका सावित्रादेवी, विद्यालय जाँदैगर्दा पहिरोले पुरिएर मृत्यु

काठमाडौं : खोताङ्गको विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको छ। 

रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा वडा कार्यालय नजिकै सडकमाथिबाट झरेको पहिरोले पुरिँदा ५७ वर्षीय शिक्षिका सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो। 

विद्यालय पुग्न करिब एकसय ५० मिटर टाढाको सडकमाथिबाट झरेको पहिरोले पुरिएकी शिक्षिका सावित्रादेवीलाई स्थानीय र प्रहरीले उद्धार गर्नेक्रममा डेढ घण्टापछि मृत फेला पारेको सम्बन्धित वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए। 

'घटना भएको ठाउँमा निरन्तर पहिरो झरिरहन्थ्यो। उहाँ त्यही सडक भएर विद्यालय आवतजावत गर्नुहुन्थ्यो, आज उहाँ विद्यालय जाँदैगर्दा सडकमाथिबाट झरेको पहिरोले पुरिनुभएको रहेछ', उनले भने, 'घटना भए लगत्तै स्थानीय बासिन्दा र प्रहरी उद्धारमा खटाइयो। डेढ घण्टापछि पहिरो पन्छाएर उहाँको मृत शरीर फेला पार्यौं।' 

पहिरोमा शिक्षिका सावित्रादेवीभन्दा अगाडि पछाडि सँगसँगै यात्रामा रहेका भागेर ज्यान बचाउन सफल भएको प्रत्यक्षदर्शीले बताए। 

२०५७ देखि त्यस विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी केही महिनापछि अनिवार्य अवकाश हुने तयारीमा थिइन्। एक छोराकी आमा उनी आफ्नै घरमा नातिनीसँग बसेर उक्त विद्यालयमा शिक्षण गर्दै आएकी थिइन्। 

उनको श्रीमान् अकलबहादुरको भने निजामती सेवाअन्तर्गत नायब सुब्बा पदबाट अनिवार्य अवकाश भएको केही वर्षपछि क्यान्सर रोगका कारण मृत्यु भएको थियो।  

साउन ३०, २०८१ बिहीबार २०:३२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।