खेलाडीहरूलाई २ वर्षअघि घोषणा गरेको पुरस्कार अहिलेसम्म दिएन बागमती सरकारले!

खेलाडीहरूलाई २ वर्षअघि घोषणा गरेको पुरस्कार अहिलेसम्म दिएन बागमती सरकारले!

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

तत्कालीन खेलकुदमन्त्री रन्तप्रसाद ढकालले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट विभिन्न पदक प्राप्त खेलाडीहरूलाई पुरस्कार दिइने भनेर घोषणा गरेको २ वर्ष समय पुग्दा पनि पुरस्कार नदिएको विषयप्रति बिहिबार खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठसहितका टोलीले मन्त्री महर्जन समक्ष ध्यानाकर्षण पत्र बुझाए। 

२०७९ साल कार्तिक महिनामा सम्पन्न भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी स्वर्ण, रजत तथा कास्य पदक प्राप्त गरेका खेलाडीहरूलाई प्रोत्साहन स्वरूप प्रदेशबाट नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा भएपनि हालसम्म पनि पुरस्कार नपाएकाले खेलाडीहरूमा निराशाजनक अवस्था सिर्जना भएको ज्ञापनपत्रमा उल्लेख छ।

पूर्वघोषित पुरस्कारमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार पुरस्कार रहेको थियो।

खेलाडीहरूले पुरस्कार रकम २ करोड २४ लाख रुपैयाँ  माग गरेका छन्।

ध्यानाकर्षण बुझ्दै मन्त्री महर्जनले पुरस्कार माग रकम खेलकुदको नीति नियम भन्दा माथि भएकाले अर्थ मन्त्रालयले बजेट उपलब्धमा सहमति नजनाएको बताए।

उनले आफू पनि खेलकुद क्षेत्रकै व्यक्ति भएकाले खेलाडीको मर्का बुझ्दै पुरस्कार वितरण कार्यलाई तीब्रता दिइएको बताए।

मन्त्रालयले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो।

साउन ३०, २०८१ बिहीबार २०:०८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।