ब्रिटिस कलेजले पायो नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’को मान्यता

ब्रिटिस कलेजले पायो नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’को मान्यता

काठमाडौं : द ब्रिटिस कलेजले नेपालमा पहिलोपटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ। 

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन(युनेस्को)को दिगो विकासका लागि शिक्षाअन्तर्गत यस विश्वव्यापी साझेदारीले शिक्षाको माध्यमबाट जलवायु संकटलाई सम्बोधन गर्ने लक्ष्य राख्दै व्यक्तिगत र सामाजिक रूपान्तरण ल्याउनका लागि आवश्यक पाठ्यक्रमको परिवर्तन समर्थन गर्ने बताइएको छ। 

ब्रिटिस कलेजले प्रदान गर्दै आएको बीबीए शैक्षिक कार्यक्रमअन्तर्गत ‘इनोभेट फर इम्प्याक्ट’ (आईएफआइ) परियोजनामा गरेको उत्कृष्ट कार्यको परिणामस्वरुप कलेजले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)बाट यो मान्यता पाएको हो।

हरित शिक्षा प्रवर्द्धनमा ब्रिटिस कलेजको प्रयास तथा दृढ संकल्पको आधारमा गरिएको मूल्याङ्कन प्रक्रियापछि यस मान्यता प्रदान गरिएको हो।  

यस मान्यतासँगै ब्रिटिस कलेजले युनेस्कोको विभिन्न स्रोतहरू जस्तै, ज्ञान प्राप्त गर्ने, कार्यक्रमहरुमा सहभागिता, परामर्श लगायतका अवसरहरूमा पहुँच प्राप्त गरेको छ। कलेजलाई आफ्नो नेटवर्क विस्तार गर्न र संयुक्त राष्ट्र संघको अन्य एजेन्सीहरूसँग सम्बन्ध निर्माण गर्ने ढोका खुलेको छ।

बीबीए तथा आईएफआई परियोजनाका प्रमुख सुनिता बस्नेतले भनिन्, 'हाम्रो संस्थामा सस्टेनेबिलिटी र ग्रिन एजुकेशनबारे साझा दृष्टिकोण रहेको छ। त्यसैले यो उपलब्धि प्राप्त गर्नमा ब्रिटिस कलेजका सबै विभागका सहकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको छ।'

साउन ३१, २०८१ बिहीबार १९:५१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।