साफ च्याम्पियनसिप : प्रतियोगिता सुरू हुन ३ दिन बाँकी, मैदानको अझै टुङ्गो छैन!
काठमाडौं : दक्षिण एसियाली राष्ट्रहरूबीच हुने यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता यही भदौ २ देखि नेपालमा सुरू हुँदैछ। प्रतियोगिता सुरू हुन तीन दिन बाँकी रहँदा पनि खेल कुन मैदानमा हुने अझै टुङ्गो लागेको छैन।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले खेल दशरथ रङ्गशाला वा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने हो भन्ने अझै टुङ्गो नलागेको बताए।
उनले भने, 'हामीले दशरथ रङ्गशालामा प्रतियोगिताका खेल गर्ने तयारी गरेका थियौँ, तर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीको खेलमा मैदान बिग्रिएकाले साफ च्याम्पियनसिपको खेल कुन मैदानमा गर्ने टुङ्गो लागेको छैन।'
उक्त खेलमा बिग्रिएको खेलमैदानका कारण चर्को आलोचना भएको थियो। उनले आज एएफसीबाट दशरथ रङ्गशाला मैदानको निरीक्षण हुने र भोलिसम्म खेल मैदानको टुङ्गो लाग्ने बताए।
प्रतियोगिताको उद्घाटन खेल भदौ २ मा नेपाल र श्रीलङ्काबीच हुनेछ। प्रतियोगिताको सेमिफाइनल र फाइनल भने दशरथ रङ्गशालामै हुने छ।
भदौ १२ सम्म चल्ने प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसमा नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा बङ्गलादेश र श्रीलङ्का छन्।
त्यसैगरी समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन्।
साउन ३१, २०८१ बिहीबार १९:१८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।