बाँदरलाई कृषिबाली हानिकारक वन्यजन्तु घोषणा गरिँदै, घोषणापछि मार्दा पनि कानुन नलाग्ने

बाँदरलाई कृषिबाली हानिकारक वन्यजन्तु घोषणा गरिँदै, घोषणापछि मार्दा पनि कानुन नलाग्ने

काठमाडौं : सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी थालेको छ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने विषयमा छलफल चलिरहेको भएपनि घोषणा हुन बाँकी रहेको  वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले बताए। 

‘समितिमा छलफल चलेको हो तर सरकारले घोषणा गरिसकेको छैन। घोषणा गरिए राजपत्रमा आइहाल्छ नि,’ उनले नेपाल न्यूज बैंकसँग भने।

कृषि हानिकारक वन्यजन्तु घोषणा गरेपछि किसानले खेतबारीबाट बाँदरलाई धपाउन, लखेट्न, पक्रिन र मार्न पनि सक्ने बताइएको छ। हालको अवस्थामा कुनै पनि वन्यजन्तुलाई लखेट्न, धपाउन, पक्रिन र मार्न कानुनविपरीत मानिन्छ।

सरकारले यसअघि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो। 

यसअघि बाँदर नियन्त्रणका विषयमा तालिम लिन भारत गएका वन र भेटेनरीका प्राविधिकको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको छ। 

प्रतिवेदनमा बाघ, हात्ती, गैँडा, नीलगाई, चितुवा र बाँदरसहित विभिन्न १६ वटा प्रजातिका वन्यजन्तुले मानवीय तथा भौतिक क्षति पुर्याउने गरेकोले तत्कालै बाँदरको समस्या व्यवस्थापन गर्न सुझाव दिइएको छ। 

साउन ३०, २०८१ बिहीबार १८:४३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।