अष्ट्रेलियामा बसेर भारतीय नागरिकको नेपालमा ठगी धन्दा, क्यानडाको प्रलोभनमा ठगीदै नेपाली

अष्ट्रेलियामा बसेर भारतीय नागरिकको नेपालमा ठगी धन्दा, क्यानडाको प्रलोभनमा ठगीदै नेपाली

काठमाडौँ : नवलपरासिको भास्कर केसी एक वर्ष अघि टिकटकमा भारतीय मूलका प्रदीप कुमार देवानको भिडियो देखे। भिडियोमा अजी एक्सपर्ट माइग्रेसन कन्सल्टेन्टका लगानीकर्ता भन्दै उनले आफ्नो कन्सल्टेन्टीबाट क्यानडा लैजाने  र को-को गए भन्ने उल्लेख गरेका थिए।

केसीले पनि अजी एक्सपर्टमा सम्पर्क गरे। प्रारम्भमै ६ हजार ८ सय रुपैयाँ तिरेपछि प्रदीप कुमार देवानले जुम मिटिङ गर्ने र क्यानडा जान के-के लाग्छ के गर्नुपर्छ भन्ने जानकारी आयो। उनले ९८४३४४५७३४ नम्बरमा खल्ती डिजिटल वालेटमा तोकिएको रकम हालिदिए। उनलाई जुम मिटिङको लिंक पठाइयो।

मिटिङमा प्रदीपले आफ्नो कन्सल्टेन्सी मार्फत धेरैजना क्यानडा गएको भन्दै केहीको भिडियो पनि देखाए। क्यानडा जान किस्ताबन्दीमा ३५ हजार क्यानेडियन डलर तिर्नुपर्ने र हाललाई पहिलो किस्तामा २५ हजार क्यानेडियन डलर चाहिने बताए।

केसी विदेश जाने सुरमै थिए। उनका अन्य साथीहरू पनि अन्य एजेन्सीमार्फत क्यानडा जान धाइरहेकै थिए। उनले देवानमार्फत प्रक्रिया चाले। नेपाली १६ लाख ५६ हजार पैसा बुझाए।

प्रदीपले मेरो मान्छे काठमाडौँमा छ उसैको खातामा हाल्नु भनेपछि उनी प्रियङ्का सिटौलाको सम्पर्कमा पुगे। सिटौलाले दुई/तीन पटक गरेर उनको खातामा पैसा हाल्न लगाइन्। अन्तिम पटक भने प्रियङ्काले रुद्र खड्काको नाममा पैसा हाल्न लगाइन्।

लक्ष्मी बैङ्कबाट नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कमा २०८० भदौमा ५ लाख ५३ हजार तीन सय ५० रुपैयाँ जम्मा गरिदिए।  त्यस्तै एक दिनको फेर पारेर  रुद्र खड्काको नाममा ५ लाख जम्मा गरिदिए। उनले पनि सिटौलाले भने बमोजिम पैसा हालिदिए। बाँकी पैसा उनले अस्ट्रेलियामा रहेका साथी मार्फत दिए।

अन्य कन्सल्टेन्टीबाट आवेदन दिएकाहरू क्यानडा पनि पुगे तर उनको कुनै सुरसारै भएन। उनले पटक-पटक प्रदीप र प्रियङ्कासँग कुराकानी गरिरहे। यता ऋण गरेर झिकेको पैसाको व्याज मासिक ३० हजार रुपैयाँ बुझाउँदैमा उनी हत्तु भइसकेका थिए।

जब उनले पैसा फिर्ता मागे। प्रदीपले केही कारण नखुलाई पैसा दिन नमिल्ने भन्दै कारण खुलाउन भने। ‘म जान्न’ भन्दैमा प्रदीपले पैसा फिर्ता दिने सङ्केत थिएन। त्यसपछि उनले श्रीमती बिरामी भएकाले जान नसक्ने भन्ने भिडियो पठाइदिए।

१६ लाख ५६ हजार बुझाएका उनलाई साढे १० लाख पैसा फिर्ता त आयो। अरू पैसा प्रक्रिया गर्दा नै सकियो भनेर दिएनन्।प्रियङ्का सिटौलालाई उनले सम्पर्क गरे। प्रियङ्काले आफू उसको कारोबारसँग कुनै सम्बन्ध नभएको भन्दै कल नगर्न भनिन्। उनको ६ लाख  अझैँ उठेको छैन।

उकेराले लेनदेनबारे प्रिंयकासँग सम्पर्क गर्दा पैसा लिएको स्विकारिन् तर अर्कै कारण बताइन्। आफू बाहिर बस्दा प्रदीपसँग पैसा लिनुपर्ने भएकाले नेपाल आएपछि उनको क्लाइन्टबाट लिएको उनको दाबी थियो। 

'प्रदीपसँग मेरो पुरानै चिनजान हो। म बाहिर छँदा नै पैसा लिनुपर्ने थियो। मैले उससँग मागेपछि नेपालकै मान्छेसँग  लिनु भने अनि मैले केही पैसा लिएको हो' उनले भने। उनले आफू कन्सल्टेन्सीको प्रतिनिधि पनि नभएको दाबी गरिन्।

सुरुवातमा उनले आफू कुनै एक कलेजको भाइस प्रिन्सिपल भएको दाबी गरेकी थिइन्। उकेराको खोजमा उनको दाबी गलत देखियो। जव उनले ढाँटेकोबारे प्रश्न गरियो अनि ब्यक्तीगत विषय सोधेर ह्यारेस गरेको दाबी गर्न थालिन्।

उकेरासँगको कुराकानीमा उनले प्रदीपले धेरैलाई विदेश पठाएको दाबी गरिरहिन्। 'हुन त म उसको आधिकारिक मान्छे हैन। उ त्यस्तो फटाहा हो भन्ने मलाई लाग्दैन' उनले दाबी गरिन्।

उकेराले केसी मात्रै हैन  दुबईमा बसेका तीन नेपालीलाई समेत प्रदीपले ठगी गरेको प्रमाण फेला पारेको छ। उकेराको सम्पर्कमा आएका तीन जनाले १४ हजार ७ सय ५० अस्ट्रेलियन डलरसम्म प्रदीपको खातामा हालेको देखिन्छ। उनीहरु क्यानडा जान सकेका छैनन्। पीडितले परिचय भने खुलाउन चाहेनन्।

कन्सल्टेन्सी गैर कानुनी, अस्ट्रेलियामा अनुसन्धानको घेरामा

प्रदीप अहिले अष्ट्रेलियामा छन्। उनी टिकटक लगायतका सामाजिक सञ्जालमा भिडियो राखेर क्यानडा जान चाहनेहरुको खोजी गर्छन् र ठगी गर्छन्। उकेराले फेला पारेको विवरण अनुसार अजी एक्सपर्ट कन्सल्टेन्सी गैर कानुनी भएको र धेरै ठगेको भन्दै अस्ट्रेलियन सरकारी निकाय कन्जुमर एन्ड बिजनेस सर्भिसमा उजुरी परेको देखियो।  २०२४ जुलाइमा उजुरी परेको देखियो। कन्जुमर एन्ड बिजनेस सर्भिस कसैले ठगी भयो भने कम्लेन गर्ने संस्था हो।  

अस्ट्रेलियाको एडीलेड सिटीमा कन्सल्टेन्सी छ। अस्ट्रेलियामा कन्सल्टेन्सी दर्ता गरेपछि कन्सल्टेन्टको काम गर्न एमएआरएन नम्बर चाहिन्छ। उसको आधिकारिक एमएआरएन नम्बर भेटिँदैन। 

अस्ट्रेलियामा जसले कन्सल्टेन्ट गर्छ उसले एमएआरएन नम्बर लिनै पर्छ। यो नम्बर नभएमा नम्बर भएका वकिललाई हायर गरेर मात्रै कन्सल्टेन्सी चलाउन पाइन्छ।

अस्ट्रेलियाबाट सम्पर्कमा आएका एक नेपालीका अनुसार त्यहाँ एक नेपालीले देवानले ठगी गरेको भन्दै अन्य नेपालीलाई पैसा फिर्ता माग्न सूचना दिए। यो थाहा पाएपछि देवानले उनलाई धम्काउन थाले।

उनले धम्काउन आफू मात्रै हैन नेपालबाट प्रियङ्का सिटौला र सूर्यजित बाँस्कोटा समेत परिचालन गरे। सिटौलाले आफू प्रहरीको मान्छे भएको भन्दै अरूको व्यवसायको आरिस नगर्न र नेपाल फर्के जे पनि गर्ने भन्दै धम्काएको उनले उकेरालाई बताए। सूर्यजित बाँस्कोटाले आफू डिएसपी भएको भन्दै धम्क्याएका थिए।

नेपालमा परेको छैन उजुरी

उकेराले यस विषयमा वैदेशिक रोजगार विभागमा उजुरी परेको छ की छैन भन्नेबारे सोधखोज गरेको थियो। विभागमा अहिलेसम्म अजी एक्सपर्ट कन्सल्टेन्सी विरुद्ध उजुरी परेको देखिएन।

विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले यदि विदेशी कम्पनीले ठगेता पनि नेपालीलाई पैसा बुझाएको हकमा विभागमा उजुरी दिन सकिने बताए।

'कन्सल्टेन्सी विदेशी भए पनि वैदेशिक रोजगार जान नेपालीलाई पैसा दिएको प्रमाण छ भने उजुरी दिन सकिन्छ ' उनले भने,'जहिले उजुरी दिए पनि हुन्छ हदम्याद लाग्दैन।'

साउन ३०, २०८१ बिहीबार १७:०७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।