'भूकम्प प्रभावितका लागि तीन अर्ब १६ करोड निकासा भएको छ, ७७ हजार बढीले पहिलो किस्ता पाइसके'

'भूकम्प प्रभावितका लागि तीन अर्ब १६ करोड निकासा भएको छ, ७७ हजार बढीले पहिलो किस्ता पाइसके'

काठमाडौं : गृहमन्त्री रमेश लेखकले जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गतवर्ष गएको भूकम्पबाट प्रभावित भएकाहरूका लागि तीन अर्ब १६ करोड रुपैयाँ निकासा गरिएको बताएका छन्। 

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद कृष्णबहादुर रोकायाले जाजरकोट भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै गृहमन्त्रीलाई सोधेको प्रश्नमा उनले ८६ हजार ६ सय ९० सेवाग्राहीका लागि हालसम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको जानकारी गराए। 

लेखकले निकास भएको रकममध्ये जिल्ला विपद् व्यवस्थापनले स्थानीय तहलाई २ अर्ब २५ करोड ५ लाख २५ हजार निकासा, स्थानीय समितिबाट प्रक्रिया पूरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ताबापत एक अर्ब ९२ करोड ५८ लाख २५ हजार लाभग्राहीको खातामा निकासा भइसकेको बताए। 

उनले कतिपय लाभग्राहीले दोस्रो किस्ताको रकम समेत पाइसकेको भन्दै अन्यको विवरण भने आउने क्रम रहेको पनि जानकारी दिए।

साउन ३०, २०८१ बिहीबार १६:५७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।