गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, ट्राफिक प्रहरीको गल्ती रहेको भन्दै स्थानीयको प्रदर्शन

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, ट्राफिक प्रहरीको गल्ती रहेको भन्दै स्थानीयको प्रदर्शन
तस्बिर : अनलाइनखबर

काठमाडौं : भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार चालकको मृत्यु भएको छ। मृतक महिलाको सनाखत हुन सकेको छैन। दुर्घटनापछि गठ्ठाघर क्षेत्रमा स्थानीयले सडक अवरुद्ध गरेका छन्। 

उनीहरूले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन्। उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ। 

प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ। ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो।

घटनामा ट्राफिक प्रहरीको गल्ती रहेको भन्दै स्थानीय आक्रोशित भएका छन्। उनीहरूले ट्रकमाथि आगजनीसमेत गरेको तर, केहीबेरमा आगो निभाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटरमा सवार चालक*को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी दिए। 

*प्रहरीले स्कुटर चालक महिला भएको जानकारी दिएको आधारमा प्रारम्भमा समाचार लेखिएको तर पोस्टमार्टमका लागि लगिएको शव पुरुषको भएको खुलेकाले 'महिलाको मृत्यु' भन्ने शब्द सच्याइएको छ।

साउन ३०, २०८१ बिहीबार १६:३४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।