महिला जति नै प्रतिभावान भएपनि पुरुषहरूले बढी पारिश्रमिक लिन्छन् : सुरक्षा पन्त
काठमाडौं : नायिका सुरक्षा पन्तले कलाकारिता क्षेत्रमा महिला भएकै कारण पुरुषको भन्दा कम पारिश्रमिक लिएर काम गर्नुपर्ने समस्या रहेको गुनासो गरेकी छिन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले महिला भएको कारण नै कलाकारिता क्षेत्रमा अब्बल र प्रतिभावान महिला कलाकारहरूले न्यून पारिश्रमिकमा काम गर्नु परेको समस्या सुनाइन्।
उनी महिलाले निर्माता भएर काम गर्दैगर्दा विश्वासको वातावरण सृजना गर्न कठिन हुने पनि बताउँछिन्।
‘महिला भएकै कारणले पारिश्रमिकको कुरामा धेरै नै विवाद गरिरहनु पर्ने हुन्छ। निर्माताहरू महिला कलाकारलाई भन्दा पारिश्रमिक पुरुषहरूलाई बढी दिन रुचाउँछन्। महिला जति नै सक्षम र प्रतिभावान भएपनि पुरुषहरूले बढी नै पारिश्रमिक लिन्छन्,’ उनले भनिन्, ‘पारिश्रमिक लिने क्रममा हामीले धेरै नै संघर्ष गर्नुपर्छ। झ्याप्प विश्वास गर्दैनन्।’
आफ्नो माहोल बनाउन वा अवस्था परिवर्तन गर्न छुट्टै मेहनत गर्नुपर्ने उनको बुझाइ छ।
विशेषगरी ग्रामीण क्षेत्रबाट आउने प्रतिभाहरूलाई अझ बढी समस्या हुने गरेको उनले सुनाइन्।
आउने, बस्ने, धाउने खर्च व्यवस्थापन गर्न, प्रोजेक्टहरू हात पार्न र आफूभित्र रहेको प्रतिभा देखाउन धेरै संघर्ष गर्नुपर्ने उनको अनुभव छ।
साउन ३१, २०८१ बिहीबार १६:००:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।