नेप्से इन्डेक्स र कारोबार रकम दुबैमा रेकर्ड, इन्डेक्सले तीन हजार टेक्दा २९ अर्बको कारोबार
काठमाडौँ : साताको अन्तिम दिनको कारोबारमा हालसम्मकै उच्च कारोबारसहित तीन हजार विन्दुमा पुगेर सेयर बजार बन्द भयो। बिहीबार २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भयो।सोमबार २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो। बिहीबार बजारले त्यो रेकर्ड तोड्यो।
नेप्से परिसूचक ४३ अङ्कले बढ्दा नेप्से ३०००.८१ अङ्क कायम भयो। यो अङ्क पनि तीन वर्ष यताकै उच्च हो। २०७८ भदौ २ मा ३१९८ अङ्कको रेकर्ड बनेको थियो।
बिहीबार १०५ कम्पनीको मूल्य बढेको थियो। १३७ वटा कम्पनीकोको घट्यो भने एकको स्थिर रह्यो।
बिहीबारको बजारमा बैङ्किङ क्षेत्रको सूचक सबैभन्दा धेरै ५.६५ प्रतिशत बढ्यो। विकास बैङ्क १.२८, होटेल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.७९, लगानी २.६९, निर्जीवन बीमा ०.९४ तथा व्यापार समूह १.८१ प्रतिशत बढेको थियो।
फाइनान्स ३.०५, जीवन बीमा ०.७३, उत्पादन १.७३ र अन्य समूहको सूचक २.३० प्रतिशतले घटे।
बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र माउन्टेन इनर्जीको सेयरको मूल्य १० प्रतिशत बढ्यो। नेपाल इन्भेस्टमेन्ट मेगाको ९.६, एनएमबी बैङ्कको ९.४, ग्लोबल आईएमई बैङ्कको ९.२, लिबर्टी इनर्जीको ९, कुमारी बैङ्कको ८.९, मातृभूमि लघुवित्तको ८.७ तथा अपि पावरको ८.२ प्रतिशत मूल्य बढ्यो।
नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो। विन्ध्यवासिनी हाइड्रोपावरको ७.२, शुभम् पावरको ७.१, मिडसोलु हाइड्रोपावरको ६.२ तथा अपरहेवाखोलाको ५.६ प्रतिशत मूल्य घटेको थियो।
साउन ३०, २०८१ बिहीबार १५:४५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।