अबदेखि राष्ट्रिय सभामा नियमित शून्य समय चलाइने

अबदेखि राष्ट्रिय सभामा नियमित शून्य समय चलाइने

काठमाडौं : संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले राष्ट्रिय सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित चलाउनेबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको जानकारी गराए। यसअघि राष्ट्रिय सभामा सातामा तीन दिन शून्य समय चलाइने गरेको थियो। 

आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायत समस्या आएको विषय उठाए। 

सांसदहरू पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथिको विभेद अन्त्य हुन नसकेको बताए। 

सांसद रुक्मिणी कोइरालाले ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धभत्तालाई उनीहरुको घरघरमा पुर्याउनुपर्ने व्यवस्था कार्यान्वयन गरिनुपर्नेमा जोड दिइन्। 

सांसद रेणु चन्दले देशभरका विभिन्न स्थानमा बाढी र पहिरोका कारण तटबन्ध भत्किएको र विभिन्न स्थानका बस्तीहरू असुरक्षित भएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।  

साउन ३०, २०८१ बिहीबार १५:३८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।